कुटनीतिक पहलद्धारा नाकाबन्दी खुलाउन शान्ति समाजको आग्रह

सन्तोष गौतम/विकल्प
म्याग्दी,मंसिर ५ गते ।
मानव अधिकार तथा शान्ति समाजले वार्ता, सम्वाद र कुटनीतिक पहलद्धारा नेपालको सिमा क्षेत्रमा भारतिय पक्षले गरेको नाकाबन्दी खुलाएर जनजिवनलाई सहज बनाउन आग्रह गरेको छ ।

समाजको शनिबार म्याग्दीको गलेश्वरमा सम्पन्न १८ आंै राष्ट्रिय परिषद् बैठकले नाकाबन्दीले नेपाली जनताहरु सबै प्रकारका मानव अधिकारको उपभोग गर्नबाट बञ्चित भएको ठहर गर्दै खुलाउन आन्दोलनरत मधेशी मोर्चा, नेपाल र भारत सरकारसंग आग्रह गरेको हो ।

SG_Myagdi Peace Society 1

समाजले मधेशी मोर्चाले नाकाबन्दी फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने, सरकारले वार्ताका लागि प्रभावकारी कदम चाल्नुपर्ने र भारतले सिमा नाकाको भारततर्फ रोकीएका मालबाहक तथा ईन्धन बोकेका सवारी साधनलाई निर्वाध रुपमा चल्न दिनुपर्ने माग गरेको छ ।

नाकाबन्दीका कारण सिर्जना भएको समस्या समाधानका लागि समाजले वार्ता, सम्वाद र कुटनीतिक पहल गर्न आन्दोलनकारी मधेसी मोर्चा, सरकार र राजनितिक दलहरुलाई दवाव दिनुका साथै समन्वय गर्ने निर्णय गरेको सभापति गंगाधर अधिकारीले जानकारी दिनुभयो ।

देशका विभिन्न जिल्लाबाट आएका एक सय जना प्रतिनिधि पर्यवेक्षक सहभागि दुई दिनसम्म सञ्चालन भएको बैठकमा नेपालमा मानवअधिकारको अवस्था, संस्थाले गरेका गतिबिधि र आगामी कार्ययोजनाको विषयमा छलफल भएको थियो । राष्ट्रिय विपद्को समयमा उद्धार र राहतमा जुट्न हरेक तहमा स्वमसेवक कमिटि गठन गर्न अपिल पनि गरेको छ ।

यसैगरी म्याग्दी शाखाको प्रस्ताव अनुसार धार्मीक, सांस्कृतीक, जैवीक तथा पर्यटकीय हिसावले महत्वपूर्ण कालीगण्डकी नदीमा बढेको फोहोर र जलप्रदुषण नियन्त्रणका लागि तटीय क्षेत्रका बासिन्दालाई फोहोर नगर्न अपिल र अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
कार्यक्रमको समापन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले मधेशमा देखिएको समस्या र नाकाबन्दीलाई खुलाउन समन्वयकारी भुमिका निर्वाह गर्न नागरिक समाज अग्रसर बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्य, शान्ति समाजको बागलुङ शाखाका प्रतिनिधि प्रताप पौडेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी, बैठकको मुल तयारी समितीका संयोजक नवराज पौडेल, म्याग्दी शाखाका सदस्य अस्मीता शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

समाजका सभापति गंगाधर अधिकारीको अध्यक्षता, उपसभापति रामजीप्रसाद सुवेदीको सञ्चालन र म्याग्दी शाखा सभापति मुक्तिप्रसाद ढुंगानाको धन्यवाद मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । बेनीमा उद्घाटन र गलेश्वरमा बन्दसत्र भएको बैठकमा मानव अधिकारबादी नेता कृष्ण पहाडी, जनकवी अर्जुन पराजुली लगायतको पनि सहभागिता रहेको थियो ।