मिलन म्याग्दीको सातौं अधिवेशन बेनीमा सुरु

केपी सापकोटा / विकल्प
म्याग्दी मंसिर ५ गते – म्याग्दी जिल्लामा क्रियाशिल गैरसरकारी संस्था मिलन म्याग्दीको शनिबार बेनीमा ११औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शुरु भएको छ ।

साधारणसभामा संस्थाका सचिव भविराम किसानले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा थजालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य रेशमबहादुर बानियाँले गैरसरकारी संघसंस्थाहरु आफ्नो उद्देश्य अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

DSC03937

म्याग्दी जिल्लामा न्युन मात्रामा गैरसरकारी संस्था रहेको भन्दै सासंद बानियाँले गैससहरु सामाजिक क्षेत्रमा क्रियाशिल रहनुपर्ने बताउनुभयो ।
संघसंस्थाहरुले जिल्लाको आर्थिक विकास र सामाजिक परिवर्तन हुने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो ।

DSC03954

कार्यक्रममा बोल्ने वक्ताहरुले गैरसरकारी संघसंस्थाहरु राज्यका निकाय पुग्न नसक्ने ठाउँमा पुगेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिँदै आत्मनिर्भर बन्ने र व्यावसायिकमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठ, जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारी रनबहादुर सारु, राममाया राणा र ज्ञानुकुमारी बानियाँलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

यसैगरी संस्थामा आवश्यक सहयोग गरेको भन्दै सल्लाहकार ठहरबहादुर भण्डारी र चन्द्रमणि सापकोटालाई पनि सम्मान गरिएको छ ।
त्यस्तै नयाँ सदस्यता लिएकाहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको मिलन म्याग्दीले जनाएको छ ।

साधारणसभाको उद्घाटन सत्रको कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष जुना गर्बुजाको अध्यक्षता, उपाध्यक्ष विनय श्रेष्ठको स्वागत र सचिव भविराम किसानको सञ्चालनमा सम्पन्न भएको थियो । आजै वसेको बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।