म्याग्दीमा महिला हिंसाविरुद्धको १६ दिने अभियान

प्रताप बानियाँ /विकल्प
म्याग्दी, मंसिर ४ गते । म्याग्दी जिल्लामा यसवर्ष पनि विविध कार्यक्रमहरुको आयोजना गरी ‘घर शान्ति नै विश्व शान्तिको आधार, पूननिर्माण शिक्षा र समान व्यवहार’ भन्ने मूल नारासहित महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइने भएको छ ।DSC03524 (1)

लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम तयारी तथा समन्वय गर्न जिल्ला संयोजन समितिको बिहीबार बेनीमा बसेको सरोकारवाला निकायको वैठकले अभियान मनाउने निर्णय गरेको हो ।

महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा संयोजन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा बसेको वैठकले विभिन्न कार्यक्रमहरुको आयोजना गरी महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउने निर्णय गरिएको महिला विकास कार्यालयले जनाएको छ ।
अभियानको पहिलो दिन महिला विकास कार्यालयको आयोजनामा म्याग्दी बहुमुखी क्याम्पसको ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुसँग महिला हिंसाविरुद्ध अन्तत्र्रिया कार्यक्रम गरिने भएको छ । सोही दिनको साँझमा गैरसरकारी संस्था महासंघद्वारा मैनबत्ती प्रज्ज्वलन गरिने भएको छ भने लैङ्गिक हिंसाविरुद्ध एक्यबद्धता जनाउनका लागि सेता रिबन समेत वितरण गरिने महिला विकास अधिकृत निर्मला शर्माले बताउनुभयो ।

DSC03882
यसैगरी दलित जिल्ला समन्वय समितिले पश्चिम म्याग्दीको मराङ गाविसमा इलाकास्तरीय सचेतनामूलक कार्यक्रम गर्ने बताइएको छ । त्यस्तै नागरिक सचेतना केन्द्रले गाविसस्तरमा, जिल्लास्थित विषयगत कार्यालयहरु शिक्षा, स्वास्थ्य, कृषि, वन र भू–संरक्षणले पनि आआफ्नो कार्यक्रम अनुसार लैङ्गिक हिंसाको मूल प्रवाहीकरण गर्ने भएका छन् ।
त्यसैगरी नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीले साविकको अर्थुङ्गे गाविसका सबै वडामा लैङ्गिक हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । डिसेम्बर १० तारिखमा महिला मानवअधिकार रक्षक सञ्जाल र महिला अधिकार मञ्चको अन्तत्र्रियासहित अभियानको समापन गरिने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म संघसंस्थाहरुद्वारा महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाउने गरिएको छ ।