प्रताप बानियाँ /विकल्प
म्याग्दी, मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा यही मंसिर ९ देखि १२ गतेसम्म सदरमुकाम बेनीमा १४औं जेसीज कप फूटबल प्रतियोगिता–२०१५ हुने भएको छ । जेसीज सचिवालयमा शुक्रबार विहान पत्रकार सम्मेलनको आयोजना गरी १४औं जेसीज कपको तयारीबारे जानकारी गराइएको हो ।
फूटबल प्रतियोगिताको तयारीबारे जानकारी गराउँदै म्याग्दी जेसीजका अध्यक्ष नवराज पौडेलले प्रतियोगिता सम्पन्न गर्नका लागि महासचिव बद्रीप्रसाद पौडेलको मूल संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको बताउनुभयो ।
उहाका अनुसार प्रतियोगिताको सहसंयोजकमा कमल विश्वकर्मा, जुरी तथा रेफ्रि संयोजकमा रमेशकुमार श्रेष्ठ, सहसंयोजक दिपेन्द्र श्रेष्ठ, आर्थिक सङ्कलन सुमन श्रेष्ठ, खेलमैदान व्यवस्थापन बिदुर बराईली, मञ्च ध्वनी प्रचारप्रसार सुशील थकाली, प्राथमिक उपचार सुवास कार्की र स्वयंसेवक परिचालनको खम थापालाई जिम्मेवारी तोकिएको छ ।
जेसीजका महासचिव एवं प्रतियोगिताका मूल संयोजक बद्रीप्रसाद पौडेलले जिल्लाका सबै ६४ ओटै मावि विद्यालयहरुलाई पत्राचार गरिसकिएको बताउनुभयो । उहाँले हालसम्म फोनमार्फत जिल्लाका विभिन्न १४ ओटा विद्यालयले प्रतियोगितामा सहभागीता जनाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि कुल तीनलाख १३ हजार रुपैयाँ खर्च लाग्ने म्याग्दी जेसीजले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, ट्रफी, रनिङशिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार १० हजार, ट्रफी, रनिङशिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई नगद एकएक हजार, ट्रफी र मेडलले पुरस्कृत गरिने भएको छ ।
सोही कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठले यसवर्ष प्रतियोगिताको मंसिर ८ गते जेसीज सचिवालयमा उद्घाटन गरिने बताउनुभयो ।
यसैगरी दोस्रो जेसीज कपका सर्वाधिक गोलकर्ता कृष्णकुमार विश्वकर्मा र उत्कृष्ट खेलाडी रोशन केसीलाई खेलमैदानमा सम्मान गरिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशिल जेसीजले युवाहरुलाई लक्षित गरी नेतृत्व विकास र क्षमता अभिवृद्धिलगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।