नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो मोनाको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ असोज ।
नौ बुँदे घोषणापत्र जारी गर्दै म्याग्दी प्र्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको प्रथम साधारणसभा बिहीबार बेनीमा सम्पन्न भएको छ ।

मोनाको १८ वटा देशका ५६ जना प्रतिनिधिहरुको सहभागितामा दुई दिनसम्म चलेको साधारणसभाले बिदेशमा आर्जित पूँजी, सिप, प्रविधि र क्षमतालाई जन्मभूमिको सामाजिक आर्थिक विकासमा लगानी गरि जिल्लालाई सम्बृद्ध बनाउन सघाउने निर्णय गरेको छ ।

dsc05074धार्मिक, लोक संस्कृति, पर्यटन, तातोपानी कुण्ड लगायत सम्भावनाको पहिचान गरि ति क्षेत्रको विकासका लागि स्थानीयबासी, प्रवासी र बिदेशीको लगानी भित्र्याउने निर्णय भएको मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीले बताउनुभयो ।

रोजगारी र अवसरको खोजीमा अस्थाई रुपमा प्रवासमा जानुपर्ने बाध्यता भएपनि आफ्नो जन्मथलोको विकासका लागि रोजगारी सिर्जना हुने क्षेत्रमा बिदेशमा भएको आम्दानी परिचालन गर्न आफूहरु तयार रहेको क्षेत्रीले बताउनुभयो ।

म्याग्दीलाई सूचना प्रबिधिमा नमुना र जनजिवनलाई सहज बनाउन जिविसले सबै बस्तीमा ईन्टरनेट सेवा विस्तार गर्न सुरु गरेको योजनाका लागि आर्थिक स्रोत जुटाउने सम्बन्धमा भएको सम्झौतालाई साधारणसभाले अनुमोदन गरेको छ । हालसम्म ५० लाख रुपैया जुटाइएको र थप रकम संकलन कार्य जारी रहेको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी गराउनुभयो । dsc05081म्याग्दीलाई कृषि, पशुपालन, पर्यटन, जडिवुटी, जलविद्युत र खनिज स्रोतको परिचालन गरि सम्बृद्ध र आत्मनिर्भर बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । जिल्लाका विपद् पिडितहरुलाई राहत र मानविय सेवा तथा परोपकारी कार्यका लागि आकस्मिक कोष निर्माण गर्ने निर्णय गरेको साधारणसभाले मौलीक कला, संस्कृतीको संरक्षणका साथै कलाकर्मी र खेलाडीहरुको प्रोत्साहनका लागि प्राथमिकता दिने घोषणा गरेको छ ।

जन्मथलोको विकासका लागि गैरआवासिय नेपाली संघ, जिल्ला स्थित सरकारी र स्थानीय निकायसंग समन्वय गर्ने घोषणा गरेको मोनाले संस्थागत विकासलाई अघि बढाउने र बिधानका केही बुँदाहरुमा संसोधन गरेको जनाएको छ । घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा सांसद नवराज शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, जिल्ला अध्यक्ष जिबनबहादुर विश्वकर्मा लगायत मोनाका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

विश्वभर छरीएर रहेका म्याग्देलीहरुलाई एकतावद्ध बनाई जिल्लाको सर्वाङगीण विकासका लागि सहयोग गर्ने उद्देश्यले २०६६ सालमा दर्ता भएको मोनाको गत वर्ष बेनीमा भएको पहिलो विश्व सम्मेलन पछि भएका गतिबिधि र उपलब्धीहरुको विषयमा साधारणसभामा छलफल भएको थियो । प्रवासीहरुले मोना मार्फत म्याग्दीको शिक्षा, स्वास्थ्य, विपन्नको उपचार, सूचना प्रबिधिको पहुँच विस्तारका साथै पुर्वाधार निर्माणमा वर्षेनी करोडौ सहयोग भित्र्याएका छन् ।