मोनाको साधारणसभाको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ असोज ।
प्रवासमा रहेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद्को बुधबार बेनीमा हुने प्रथम साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

साधारणसभामा भाग लिन विभिन्न देशमा गठन भएका मोनाका प्रतिनिधिहरु बेनी आउने क्रम सुरु भएको छ । २०७२ को कात्तिकमा बेनीमा प्रथम विश्व सम्मेलन भएपछि मोनाको २१ देशमा राष्ट्रिय समिति गठन भएको छ ।

साधारणसभामा भाग लिन १४ देशका प्रतिनिधिहरु सम्र्पकमा आईसकेका र अन्यले सम्र्पक गर्ने क्रम जारी रहेको मोना आईसीका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । ब्यवस्थापकीय, प्रचारप्रसार, प्रतिवेदन लेखन लगायतको तयारी अन्तिम चरणमा पुगेको थापाले बताउनुभयो ।

साधारणसभाको तयारीका लागि मोना आईसीका उपाध्यक्ष बिनोद कुँवरको संयोजकत्वमा समिति गठन भएको थियो । साधारणसभामा संस्थाको वार्षिक गतिबिधिको समिक्षा र भावी योजनाको विषयमा छलफल हुने मोना अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष योगेन्द्र क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार साधारणसभामा संस्थाप्रतिको बुझाईमा एकरुपता कायम गर्ने, संस्थागत गर्ने, अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना तय गर्ने विषय छलफल हुनेछ । मोनाले हाल म्याग्दीका सबै गाउँमा ईन्टरनेट सेवा विस्तार गर्ने योजनाका लागि जिविससंग सहकार्य गरेको छ ।

यसैगरी सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय (ई–लाईब्रेरी) स्थापना गर्ने योजना समेत अघि सारेको छ । मोनाले म्याग्दीमा विपद् प्रभावितको राहत, विपन्नको शिक्षा र स्वास्थ्यमा सघाउदै आएका छन् ।