मृगौला रोगी र बाढी पीडितलाई प्रवासीबाट साढे दुई लाख भन्दा बढी सहयोग
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ भदौ ।
म्याग्दीकी एक मृगौला रोगीको उपचार र बेगखोलाका बाढी पीडितहरुका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँ भन्दा बढी नगद सहयोग प्राप्त भएको छ ।
परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम ४ की खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्टे«लिया र न्युजील्याडबाट दुई लाख २५ हजार १५० रुपैयाँ सहयोग प्राप्त भएको हो ।
अस्टे«लियामा हरि कार्की र चिना केसीको पहलमा संकलन भएको एक लाख ८३ हजार ९५० रुपैयाँ उहाँहरुका अभिभावक याम केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी प्रवासी नेपाली म्याग्देली संघ (मोना) न्युजील्याण्डले दुई वटै मृगौलाले काम नगरेपछि काठमाडौमा उपचार गराइरहेकी खत्रीलाई ४१ ह्जार ९५० रुपैया सहयोग गरेको छ । संस्थाकी कोषाध्यक्ष सुनीता बज्राचार्य र प्रदीप बज्राचार्यले सहयोग रकम कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
यस्तै बेगखोलाका बाढी पीडितहरुलाई प्रवासी नेपाली म्याग्देली संघ (मोना) कतारले ३५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठले बाढी पीडितको राहतका लागि सहयोज संकलन अभियान सञ्चालन गरेको कोषका अध्यक्ष शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम ईन्द्रा खत्री बचाउ अभियानका संयोजक सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्