मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक पुनर्निर्माण गर्न तीन अर्ब लाग्ने
ठाकुरप्रसाद आचार्य
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गतको माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक निर्माणको अन्तिम चरणमा पुगेका बेला बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । अधिकांश स्थानमा कालोपत्रे र सडक ढलानका कारण मालढुङ्गा देखि कोरला सम्मको यात्रा सहज हुँदै गएको थियो ।
तर,असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले ४६ स्थानमा क्षति पु¥याउँदा १२ किलोमिटरभन्दा बढी सडक पूर्ण रूपमा भत्किएको छ । क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न करिब तीन अर्ब रुपैयाँ लाग्ने र पूर्ण रूपमा सहज बनाउन दुईदेखि तीन वर्ष लाग्ने आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो । कालीगण्डकी नदी कटान र बाढीपहिरोले सडक पूर्वाधारमा ठूलो क्षति पु¥याउँदा सडक फेरी १० वर्ष पछाडीको अवस्थामा पुगेको छ ।
मालढुङ्गा देखि कागबेनी सम्मका अधिकांश स्थानमा सडक कालोपत्रे काम सकिएर मुस्ताङ यात्रा सहज हुँदै गएको थियो । सहज सडकका कारण तिर्थयात्री र पर्यटक आगमन बढ्दै जान थालेको थियो । पर्यटक आगमनमा वृद्धि भएसँगै यस क्षेत्रमा आर्थिक चलायमान हुँदै थियो । जसले अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको थियो । मालढुङ्गा देखि मुस्ताङको कागबेनी सम्मको एकसय २ किलोमिटर दूरीको सडक मध्य ९० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको थियो भने बाँकी रहेको स्थानको सडकमा ढलान गर्ने काम अगाडि बढिरहेको थियो । म्याग्दी खण्डमा कालोपत्रे हुन वाँकी स्थानमा ढलान हुँदै थियो ।
आयोजनाले एकदशक लगाएर निर्माण गरेको सडक मनसुनजन्य विपद्ले फेरी पुरानै अवस्थामा फर्काइदिएको छ । मालढुङ्गा देखि कोरला सम्म पहिरो संरक्षण,सडक फराकिलो,कालोपत्रे र ढालन गरेर २०२ किलोमिटरको दूरीको सडक यात्रा सहज हुँदै थियो । तर, यही असोज ८ देखि ११ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले सडकलाई क्षत्विक्षत बनाएको छ ।

मालढुङ्गा देखी कोरला सम्मका विभिन्न स्थानहरुमा गरेर करिब १२ किलोमिटर भन्दा बढी सडक पुरै भत्किएको र पुनः नयाँ ट्रयाक निर्माण गर्नुपर्ने अवस्थामा रहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । बाढीपहिरो र नदी कटानका कारण ८० देखि ९० करोड रुपियाँ बराबरको क्षति पुगेपनि सडक पुननिर्माण गर्दा करिब तीन अर्ब रुपियाँ भन्दा बढी खर्च लाग्ने आयोजना प्रमुख शर्माले बताउनुभयो । सडकमा खसेको पहिरो नियन्त्रण गर्न मात्रै करिब एक अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको उहाँको भनाई छ ।
उहाँका अनुसार म्याग्दी खण्डको ३७ किलोमिटर सडक मध्य विभिन्न स्थानहरुमा गरेर ८ किलोमिटर दूरीको सडक भत्किएको छ । मुस्ताङको १५२ किलोमिटर सडक मध्य तीनकिलोमिटर सडक फेरी पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको आयोजना प्रमुख शर्माले बताउनुभयो । कोरिडोरको पर्वत खण्डमा पर्ने १३ किलोमिटर सडक मध्य एककिलोमिटर सडक बाढीपहिरोका कारण भत्किएको छ ।
आयोजना प्रमुख शर्माले भन्नुभयो,‘‘आयोजना सुरु भएको करिब एकदशक पछि कोरिडोरको माथिल्लो खण्ड मालढुङ्गा देखि बेनी हुँदै कोरला सम्मको यात्रा सहज हुनथालेको थियो । मालढुङ्गा देखि कागबेनी सम्मको सडक कालोपत्रे गर्ने काम सकिएको थियो । पहिरोग्रस्त क्षेत्रमा संरक्षण गरी सडक ढलानको काम हुँदै थियो । तर प्राकृतिक विपत्तीका कारण सडक पूर्वाधारमा ठूलो क्षति पुगेका कारण सडक पुरानै अवस्थामा फर्किएको छ ।’’
सडक पुननिर्माण गरी सहज बनाउन दुईदेखि तीनवर्ष समय लाग्ने उहाँको भनाई छ । बाढीपहिरो र कालिगण्डकी नदीले कटानका कारण मालढुङ्गा देखि कोरला सम्म ४६ स्थानमा सडक पूर्वाधारमा क्षति पुगेको थियो । अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगर स्थित कालिगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलको एप्रोच सडक बगाएकाले यसको पुननिर्माण गर्न मात्रै चारकरोड रुपियाँ लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । मुस्ताङ खण्डमा रहेका पक्की पुलहरुमा पनि ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो । अहिले भत्किएको स्थानमा अस्थायी रुपमा सडकको नयाँ ट्रयाक खोलेर एकतर्फी अस्थायी रुपमा यातायात सञ्चानलको तयारी गरिएको उहाँले बताउनुभयो ।
बेनी देखि काभ्रोभिर सम्म बाढीपहिरो र नदी कटान गरेर क्षति पुगेका स्थानमा दैनिक रुपमा १५ वटा ठूला डोजर,१२ वटा ट्रिपर र १५ वटा लोडर सहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तिव्रता दिइएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । दशैं अघि सम्म बेनीदेखि–कोरला सम्म नै सिधा यातायात सञ्चालन गर्ने लक्ष्यका साथ सडक निर्माणलाई तिव्रता दिइएको उहाँले जानकारी दिनुभयो ।
भदौं १० गते भोटेकोशीमा आएको विनासकारी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएका समयमा उत्तरी सिमाना स्थित मुस्ताङको कोरला नाकालाई विकल्पका रुपमा प्रयोग गरिएको थियो । मनसुनजन्य बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा मालसामान बोकेका सयौं कन्टेनर मुस्ताङमै अलपत्र परेका छन् । बाढीपहिरो र नदी कटानले कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि कोरला नाका सञ्चालनमा पनि चुनौती थपिएको छ । क्षतिग्रस्त सडकको पुननिर्माणका लागि आवश्यक पर्ने बजेटका लागि आयोजनाले पूर्वाधार विकास मन्त्रालय र सडक विभागमा जानकारी गराइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्