जोखिमपूर्ण सडक छिचोल्दै भेडाच्याङग्रा बजार झरे
ठाकुरप्रसाद आचार्य
असोज २६ गते ।
बाढीपहिरो र कालीगण्डकी कटानले क्षतविक्षत बनेको बेनी–जोमसोम सडकमा जोखिम कायमै छ । सडक पूर्ण रूपमा सहज नबन्दै दशैँतिहारका लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा म्याग्दीतर्फ झर्ने क्रम सुरु भएको छ । सात दिनको पैदल यात्रा गर्दै व्यापारीहरु पहिरोको जोखिमपूर्ण बाटो पार गरेर भेडाच्याङ्ग्रा बजारसम्म पु¥याउन लागिपरेका छन् ।
जोखिमपूर्ण सडक हुँदै भेडाच्याङ्ग्राका बथान म्याग्दीतर्फ झरिरहेका छन् । मुस्ताङबाट हिँडेको सात दिनपछि म्याग्दी आइपुगेका भेडाच्याङ्ग्राका बथान रघुगंगा गाउँपालिका–२, कुनौटामा बिहीबार मात्रै नयाँ ट्रयाक खोलिएको सडक पार गर्दै गरेका देखिन्थे । अपर मुस्ताङबाट सात दिनको पैदल यात्रा गरेर म्याग्दी आइपुग्नुभएका धनप्रसाद कुमाईले पाँच जना मिलेर खरिद गरेका ४ सय ६० भेडाच्याङ्ग्रा ज्यान हत्केलामा राखेर यहाँ सम्म ल्याएर आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘सडक सामान्य रुपमा सञ्चालनमा आएपनि धेरै स्थानमा सडक माथिबाट अहिले पनि पहिरो झरिरहेको देखिन्छ । बाढीपहिरोले क्षतिग्रस्त सडक पार गर्न निकै कठिन भएको छ । यसपाली ज्यान हत्केलामा राखेर भेडाच्याङ्ग्रा यहाँसम्म ल्याइपु¥याएका छौं ।’’ उहाँका अनुसार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडकको बैसरीस्थित पहिरो क्षेत्र पार गरेपछि गाडीमा राखेर काठमाडौँ लैजाने तयारी छ । कुमाईले एउटा च्याङ्ग्राको ४० हजारदेखि ४५ हजार रुपियाँसम्म बिक्री हुने बताउनुभयो ।
दशैँतिहारलाई लक्षित गरी मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा पु¥याउन यस वर्ष व्यापारीले कठिन र जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि यात्रा लम्बिएको छ भने पहिरोको जोखिमले भेडाच्याङ्ग्रा ओसारपसारसमेत चुनौतीपूर्ण बनेको छ । समय र लागत बढी भएकाले बजारमा भेडाच्याङ्ग्राको मुल्य पनि बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्