म्याग्दीका बाराही मन्दिरहरुमा धार्मिक पर्यटकको भिड
म्याग्दी,भदौं १३ गते । जनैपूर्णिमाका दिन पूजा–अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वासका कारण म्याग्दीका उच्च हिमाली क्षेत्रस्थित बाराही मन्दिर तथा पवित्र तालमा आज बिहानैदेखि दर्शनार्थी र धार्मिक पर्यटकको भीड लागेको छ । हिमाली क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा टाढाटाढाबाट आएका भक्तजन पूजा, अर्चना र दर्शनका लागि पुगेका छन् ।
म्याग्दीको प्रशिद्ध धार्मिक स्थल अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण हिमालको फेँदीमा रहेको खयरभारानी मन्दिर, वडा नम्बर ८ नांगीमा रहेको नांगीबारही र रघुगङ्गा गाउँपालिका ८ स्थित रिखारमा शुक्रबार विहानै पुगेका तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुले पूजा अर्चना र दर्शन गरेका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
समुन्द्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा रहेको खयरलेकमा अवस्थित खयरभारानी र वडा नम्बर ८ को नाङ्गी बाराहीमा भक्तजनहरुले चिच्याउँदै वर माग्ने प्रचलन छ । यहाँ एकपटकमा एउटा मात्र वर मागेमा पूरा हुने धार्मिक विश्वास छ ।
कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी तथा सेनामा भर्तीको वर माग्छन् । आफूले माग्न चाहेको वर यहाँका पुजारीलाई भनेपछि पुजारीले चिच्याउँदै वर मागिदिने प्रचलन रहेको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका चित्र तिलिजाले बताउनुभयो ।
खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले दिएको जानकारी अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की र काठमाडौँ लगायतका जिल्लाबाट ठुलो सख्यामा भक्तजन खयरभारानी पुगेका छन् । कोषले दर्शन र पूजाको सम्पूर्ण व्यवस्था मिलाएको छ । वडा नम्बर ८ मा स्थित नाङ्गी बाराहमा पनि भक्तजनहरुको विहानै देखि भिड लागेको छ ।
रघुगंगा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाईमा अवस्थित रिखारमा उल्लेख्य मात्रामा भक्तजनहरु आएको स्थानीय सप्तऋषि युवा क्लबका संरक्षक अंकित पुनले जानकारी दिनुभयो ।
जनैपूर्णिमाको दिन खयरभारानी, रिखार, कालीबराह तालकासाथै नाङ्गीबाराही, भगवतीको नौलीबाराही र घराम्दीको प्यारी बराही लगायतका थान र तलाउमा भक्तजनहरुको पूजाका लागि पुगेपछि चहलपहल बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्