जलजलाको खोलाखेतमा वायो कम्पोष्ट मल उद्योग स्थापना
बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ४ खोलाखेतमा स्थानीयहरुले सामुहिक रुपमा लगानी गरेर वायो कम्पोष्ट मल उद्योग खोलेका छन् । उद्योगले बिहिबार देखि परीक्षण उत्पादन सुरु गरेको छ । खोलाखेत गाउँका ९ जना स्थानीयहरुले सामुहिक रुपमा १५ लाख रुपियाँ लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोष्ट मल तयार गर्न सुरु छ ।
गाउँदेखि माथि रहेको जङ्गल छेउमा कम्पोष्ट मलका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरी उद्योग सञ्चालनमा ल्याइएको वायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्पादित मलको सराङकोट दाजुभाई एग्रो फर्म प्रा.लि मार्फत प्याकेजिङ र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । जैविक वायो कम्पोष्ट मलमा पर्याप्त मात्रामा नाइट्रोजन,फस्फोरस,कार्वोन,पोटासीयम र विरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्वहरु पाइने समितिका अध्यक्ष जिसीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्विकृति पाएका छौं । परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गर्दछौं ।’’
उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उहाँले बताउनुभयो । मलको प्रतिकेजी ४० रुपियाँ मूल्य निर्धारण गरिएको छ । स्याउ र सुन्तला खेतीका लागि कम्पोष्ट मल धेरै उपयोगी हुने उहाँको भनाई छ ।
जैविक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन गरिएको उक्त मल एकसय प्रतिशत प्राकृतिक रहेको उत्पादकले जानकारी दिएका छन् । कृषि उत्पादन वृद्धि माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित वायो कम्पोष्ट मल उत्पादन थालिएको स्थानीयवासी नरबहादुर कार्कीले जानकारी दिनुभयो ।
जैविक कम्पोष्ट मल विभिन्न जैविक पदार्थ जस्तै घाँस,पात,गोबर, कृषि अवशेष लगायतबाट तयार पारिएको हो । यस मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने, बिरुवाको वृद्धि राम्रो बनाउने तथा रासायनिक मलको प्रयोग घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रशोधन गरेर तयार पारिएको मललाई दुई केजीका दरले प्लाष्टिक प्याकेटमा प्याकिङ गरेर बजारमा पु¥याइने उत्पादकले जनाएका छन् । उक्त मल फलफूल,तरकारी,अन्नबाली तथा बगैंचामा प्रयोग गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।
जैविक मल प्रयोगले उत्पादन लागत घट्ने,माटोको दीर्घकालीन उर्वराशक्ति कायम रहने र वातावरणीय प्रभाव कम हुने उत्पादकको भनाइ छ । साथै स्थानीय स्तरमै उत्पादन भएको मल प्रयोग गर्न कृषकलाई आग्रह गरिएको वायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष जिसीले बताउनुभयो । स्थानीय कृषकहरुले पनि स्थानीय स्तरमै उत्पादन भएको जैविक मल उपलब्ध भएपछि खेती गर्न सहज हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्