चिमखोलाको मौलिक थाली नाचकी सर्जक हिरामाया पुन सम्मानित
चैत २६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको मौलिक थाली नाचका सर्जक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको छ । भूमे पूजाको अवसरमा आयोजित खेलकुद तथा सांस्कृतिक मेलामा चिमखोले समाज युके र चिमखोले समाज बेल्जियमले थाली नाचमार्फत गाउँको पहिचान देश–विदेशमा फैलाउन योगदान पु¥याएको भन्दै पुनलाई नगदसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा चिमखोले समाज युकेका अध्यक्ष मोति तिलिजा, उपाध्यक्षद्धाय चौबहादुर पुन र मनबहादुर तिलिजा तथा चिमखोले समाज बेल्जियमका तमप्रसाद पुनले सर्जक पुनलाई फुल, मालासहित सम्मान पत्र र नगद ८ हजार रुपियाँ सहित सम्मान गर्नुभएको थियो । उहाँलाई मगर भेषभूषा समेत प्रदान गरिएको थियो ।
चिमखोलामा वि.स. २००८ सालमा जन्मनुभएकी कलाकार पुनले घरमा खाना खाएर थाल धुनका लागि धारामा जाने आउने क्रममा हातमा थाल नचाउन सिक्नुभएको थियो । पछि गाउँमा आफुले दुबै हातमा थाल राखेर थाललाई नचाउन सक्ने कौसल देखाउन सक्ने भएपछि गाउँका अग्रजहरुले गीतको तालमा थाली नचाउन लगाएपछि औपचारिक रुपमा आफुले थाली नाच देखाएको पुनले बताउनुभयो ।
पुनले जिल्ला र तत्कालिन अञ्चलस्तर हुँदै वि.स. २०२५ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौमा पहिलो पटक राष्ट्रिय स्तरमा थाली नाच देखाउनुभएको थियो । चिमखोला गाउँको इतिहास र परिचय पुस्तकमा भारतीय सेनाका हवल्दार थमन पुनले समेत वि.स. २०१३ सालमा गाउँमा थाली र खुकुरी नाच देखाएको उल्लेख छ । हिरामाया श्रीषले भने आफुले तत्कालिन समयमा कसैबाट नभइ बाल्यकालमा थालसँग खेल्नेक्रममा हातमा थाल नचाउने कौसल सिकेको बताउनुभयो ।
चिमखोलाबाट सुरु भएको थाली नाच अहिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपाली समुदायमा समेत लोकप्रिय नाचको रुपमा परिचित छ । दुबै हातमा थाल राखेर थाललाई नचाउँदै आफु समेत नाच्ने भएकाले थाली नाच आकर्षक नृत्यको रुपमा चिनिदै गएको छ । थाली नाचको संरक्षण र पुस्तान्तरणका लागि स्थानीयवासीहरुले पनि सक्रियता देखाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्