मतदानको दिन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह
बेनी, भोली बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले मतदानका दिन पालना गर्नुपर्ने आचारसंहितालाई कडाई गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता २०७९ को दफा १८ बमोजिम मतदानको दिन राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि तथा सम्बन्धित पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्ने आचरणबारे जानकारी गराएको हो ।
जारी सूचनामा मतदान केन्द्रभित्र वा आसपास राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह वा मतसँग सम्बन्धित कुनै पनि किसिमको पहिरन, व्याज, चिन्ह वा प्रचार सामग्री प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ । साथै, कुनै दल वा उम्मेदवारको पहिचान खुल्ने किसिमको समान प्रकारको पोशाक, टोपी, टिसर्ट, झोला वा अन्य सामग्री प्रदर्शन गर्न समेत निषेध गरिएको छ ।
मतदान केन्द्रमा सर्वसाधारणलाई ओसारपसार गर्न सवारी साधन प्रयोग गर्न पनि रोक लगाइएको छ । कुनै पनि व्यक्तिलाई मतदानका लागि ल्याउन–लैजान सवारी साधनको प्रयोग गर्न नहुने सूचनामा जनाइएको छ । तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था रहेको उल्लेख छ ।
यसैगरी, मतदाता तथा आयोगबाट अनुमति प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्तिलाई मतदान केन्द्रभित्र प्रवेश गर्न नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले उल्लिखित आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कुनै गतिविधि गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आचार्य र प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रामनाथ शर्माद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत सबै सरोकारवाला पक्षलाई मतदानको दिन आचारसंहिता पालना गरी निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्