निर्वाचनले जिल्लामा पार्टी क्षमता र जनमतको परीक्षण
जेनजी आन्दोलनको उपलब्धिका रुपमा हेरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनले जिल्लामा रहेका राजनीतिक दलहरुको क्षमता र जनमतको परीक्षण हुनलागेको छ । अघिल्ला दुई निर्वाचनमा एकआपसमा गठबन्धन गरेर चुनाव लडेका दलहरु यसपाली भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । यही फागुन २१ गते हुने निर्वाचनले जिल्लामा दलहरुको क्षमता र जनमतको परीक्षा हुने भएको हो ।
जिल्लामा रहेका नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी(एमाले),नेकपा (माओवादी केन्द्र) सहित विभिन्न पार्टीहरु मिलेर हाल बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठबन्धनबिना चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दर्ता गरेपनि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार दिनुभएका डा.महावीर पुनलाई सहयोग गर्ने घोषणा गरेको छ । स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने रास्वपाको घोषणाले उसको मतको परीक्षण अब प्रत्यक्ष तर्फ हुने छैन ।
केही वर्ष भुमिगत राजनीति गरेको नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादी पनि अहिलेको चुनावमा प्रतिस्पर्धामा छ । उसको पनि जिल्लामा जनमतको परीक्षा हुने छ । ११ जना उम्मेदवार चुनावी मैदानमा भएपनि मुख्य गरी यसपटकको चुनावमा कांग्रेस,एमाले,नेकपा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री महावीर बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लामा महावीरको स्वतन्त्र उम्मेदवारीले दलहरुको परम्परागत भोट बैंकलाई भत्काइदिन सक्ने देखिएको छ । पुराना राजनीतिक दल कांग्रेस र एमालेलाई यसपाली जित निकाल्न निकै चुनौति देखिएको छ । तर म्याग्दीमा विगतका चुनावी परिणामलाई राजनीतिक रुपमा प्रतिवद्ध भोट नै देखिन्छ ।
संगठनका हिसाबले अन्य दलभन्दा एमाले बलियो छ । २०७९ को निर्वाचनमा एमालेले गठबन्धनबीना चुनाव लड्दा पाएको प्रत्यक्ष र समानुपातिक तर्फको मत हेर्दा जिल्लामा पहिलो शक्ति देखिन्छ । त्यस्तै कांग्रेस दोस्रो र हालको नेपाली कम्युनिष्ट पार्टी तेस्रो देखिन्छ । रास्वपा चौथो दल बनेको छ ।
२०७४ को निर्वाचनमा एमालेले माओवादी सँगको चुनावी गठबन्धन गर्दा प्रत्यक्ष तर्फ २३ हजार ३०८ मत प्राप्त गरेर जित हासिल गरेको थियो । यसैगरी कांग्रेसले २० हजार ९ सय ८० मत ल्याएको थियो ।
२०७९ को निर्वाचनमा आउँदा कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्दा कांग्रेसले २४ हजार २१ मत ल्याउँदै विजयी भएको थियो । एमालेले एक्लै २० हजार १८९ मत प्राप्त गरेर उपविजेता बन्यो । रास्वपाले १४ सय २४ मात्र मत प्राप्त गरेको थियो ।
उक्त निर्वाचनमा समानुपातिक तर्फ एमालेले १८ हजार २ सय ७३,कांग्रेस १३ हजार ६ सय ९३,माओवादी ९०७०,रास्वपा ३५७९ र राप्रपाले १२ सय ५३ मत प्राप्त गरेका थिए । नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो निर्वाचनमा नेकपा एमाले र तत्कालिन नेकपा (माओवादी केन्द्र) बीच चुनाबी गठबन्धन भएको थियो । त्यतिखेर कांग्रेसलाई प्रतिनिधिसभा तर्फ राप्रपाले सघाएको थियो ।
पछिल्लो २०७९ को निर्वाचनमा भने कांग्रेस र नेकपा माओवादीबीच चुनाबी गठबन्धन गरेका कारण प्रतिनिधिसभामा कांग्रेस र प्रदेशसभा तर्फ माओवादीका उम्मेदवार बिजयी भएका थिए । जेनजी आन्दोलले दलहरुको पुरानो मतलाई भत्काइदिएको छ । संघ र स्थानीय तहको मतको अवस्थालाई हेरेर अहिलेको आकलन गर्न कठिन छ ।
तर सांगठनिक अवस्था र दलहरुले प्राप्त गरेको पुरानो मतलाई आधार भने मान्न सकिन्छ । ठूला दलहरुको सांगठनिक मत नै जित्ने बलियो आधार हो । अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका सबै दल आफ्नै बलमा प्रतिस्पर्धामा उत्रिने तयारीमा जुटेका छन् । गठबन्धनले दलहरूको वास्तविक परीक्षण हुने थिएन ।
निर्वाचनमै एक्लाएक्लै प्रतिस्पर्धा गर्दा आफ्ना कार्यकर्ता चलायमान हुन्छन् जसले संगठनले शक्ति आर्जन गर्दछ । दलहरूका संगठनलाई गतिशील बनाउछ । दलका कार्यकर्तालाई अवसर दिने, कार्यकर्ता परिचालन गर्ने र सांगठनिक गतिशीलता प्रदान गर्नका लागि आफ्नो क्षमता परीक्षण गर्न एक्लै प्रतिस्पर्धामा जानु उत्तम हुन्छ । आआफ्नो दलको क्षमता पनि थाहा हुन्छ । कुन दल कति कमजोर छ, धरातल कस्तो छ भन्ने कुरा थाहा हुन्छ । जसका लागि फागुन २१ लाई पर्खिनुपर्दछ ।
#तत्कालिन नेकपा –माओवादी केन्द्रको चुनाव चिन्ह् गोलाकार भित्रको हसिया हथौडा रहेकाले यो समाचारमा उही चुनाव चिन्ह् प्रयोग गरिएको हो । अहिले विभिन्न बामपन्थी पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ र चुनाव चिन्ह् तारा रहेको छ । सम्पादक

प्रतिक्रिया राख्नुहोस्