अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड


ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक २ गते ।

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा यतिखेर आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । दशैं तिहार विदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो ।


नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग (अन्नपूर्ण आरोहण ट्रेक) हुँदै दुईदिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता,हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको छ ।


दशैं तिहार विदाको अवसरमा आन्तरिक पर्यटकहरुले यो पदमार्गको भ्रमणलाई प्राथमिकतामा राखेका छन् । भर्जिन पर्यटकीय गन्तब्यका रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तब्य हो ।


नारच्याङ गाउँदेखि दुईदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपाली आन्तरिक पर्यटकको संख्या बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो ।


गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा चारगुणा बढेको पदमार्गका अभियन्ता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दशैंको दिनदेखि शुक्रबार सम्म करिब ८ सय भन्दा बढी आन्तरिक पर्यटक आधारशिविर पुगिसकेका छन् । यसका साथै भारतीय,चाइनिजि,ताइवानी र इटालियन पर्यटकहरुको संख्या पनि गतवर्ष भन्दा यसपाली बढेको उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘आन्तरिक पर्यटकका कारण पदमार्गमा चहलपहल बढेको छ । हुमखोला देखि आधार शिविर सम्म पर्यटकको लर्को लागेको छ ।’’म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु भ्रमणमा आएको उहाँले बताउनुभयो । पदमार्ग र आधार शिविरको भ्रमण गरेका पर्यटकहरुले पर्यटन पूर्वाधारको अभावका साथै आधार शिविरमा फोहोर बढेको गुनासो गरेको उहाँको भनाई छ ।


बेनीबाट दशैंको भोलिपल्ट साथीहरूसँग पहिलो पटक आधारशिविर पुग्नुभएका बेनीका छवी आचार्यले अन्नपूर्णको उत्तरी आधार शिविर धेरै रमणीय भएको बताउनुभयो । आचार्यले पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज,संचारको सुविधा र बिच बाटोमा टी आउस लगायतका पूर्वाधार बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।


उत्कृष्ट पर्यटकीय गन्तब्य भएकाले अन्नपूर्ण पर्यटकको रोजाईमा परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण उत्तरी आधारशिविर साच्चिकै स्वर्ग जस्तो छ । बेनीबाट दुईदिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ ।’’


नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुईदिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।

पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ । साभार गोरखापत्र अनलाइन

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको यात्रामा निस्केका पर्यटकहरु । तस्विर छवि आचार्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *