नयाँ भर्सनमा ‘बेनीको बजार’ गीत सार्वजनिक (भिडियो सहित)


ठाकुरप्रसाद आचार्य
भदौं ३० गते ।


बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार,जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनःनिर्माण गरी सार्वजनिक गरिएको छ ।

गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनःनिर्माण गरिएको हो । शनिबार म्याग्दी जेसिज र समाजिक विकास कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रमका बीच पुनःनिर्मित म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली र गीतका सर्जक तथा गायीका मन छन्त्यालले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।
युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवद्र्धनमा सक्रिय हुँदै आएको म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ रुपमामा छायङ्कन गरी पुनःनिर्माण गरेको हो ।

स्वर्गीय टिकाबहादुर श्रेष्ठले रचना गरेको उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँको श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाउनुभएको थियो । विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ उक्त गीतले चर्चा पाएको थियो । यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमा समेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।
गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।


जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार पारिएकोे निर्देशक डिके पुनले बताउनुभयो । म्यूजिक भिडियो सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायङ्कन गरिएको छ ।
मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारहरुले नृत्य र अभिनय गरेका छन् ।
विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो । उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । गीतका सर्जक श्रेष्ठको निधन भएकाले उहाँकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडियोलाई पुनःनिर्माण गरिएको जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

यसैगरी म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गरेको छ । दुवै गीत र म्युजिक भिडियो पुनःनिर्माणमा करिब ९ लाख पचासहजार रुपियाँ खर्च भएको म्याग्दी जेसिजले जनाएको छ । सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायाङ्कन गरिएको छ ।


शेखर पुन र मिलन थापा मगरले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । म्याग्दीका कलाकारले सृजना गरेका गीतसङ्गीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेको गीतले जिल्लालाई थप चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने विश्वास गरिएको गण्डकी प्रदेश सभाका सदस्य जुग्जालीले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *