आहा खुलेको खोप्रा !(फोटोफिचर)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,भदौं २४ गते ।

अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ । विहानीपख आकाश खुला हुनथालेको छ । मौसममा सुधार आउन थालेसँगै आन्तरिक पर्यटकहरु खोप्रा पुग्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुन्द्री सतह देखि तीन हजार ६ सय साठी मिटरको उचाईमा पर्दछ । खोप्राबाट धौलागिरी,अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ ।


वर्षातको सिजन भएकाले खोप्रालेकमा हरियाली छ । पाखाभरी विभिन्न फूलहरु फुलेका छन् । भेडाच्याङ्ग्रा र चौंरीले पाखो भरिएको छ । विहानीपख खुलेको मौसमका कारण अहिले आँखै अगाडी सुन्दर हिमश्रृङ्खलाको अवलोकन गर्न पाइन्छ । मौसम खुलेका कारण खोप्राको भ्रमण रोमाञ्चक भएको जुनु पुनले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘खोप्रालेक पहिलो पटक पुगेको थिएँ । खोप्रा साच्चिकै स्वर्ग जस्तै रहेछ । प्रकृतिप्रेमिहरुका लागि खोप्रा ट्रेक निकै आनन्द र रोमाञ्चक छ ।’’ विहानीपख आँखै अगाडी सेताम्मे हिमालको अवलोकन गर्दा मन फुरुङ्ग भएको उहाँले बताउनुभयो ।
बेलुका सुत्नेबेलामा आकामा टम्म बादल लागेको थियो खोप्रा पुग्नुभएका रुपेश कार्कीले भन्नुभयो, ‘‘भोली विहान मौसम नखुल्ने भयो हामी चिन्तीत भएका थियौं । तर विहान मौसम क्या गजब भइदियो, आकास खुल्यो,हिमालसँग रमाउन पाइयो ।’’ खोप्राबाट धौलागिरि,गुर्जा,चुरेन,निलगिरि,अन्नपूर्ण लगायतका हिमालहरु आँखै अगाडि देख्न सकिन्छ ।


भदौं महिनाको दोस्रो हप्ता देखि विहानीपख मौसममा सुधार आएको छ । मौसममा सुधार आएसँगै आन्तरिक पर्यटकहरु खोप्रा आउन थालेको पाउद्धार पर्यटन सहकारीद्धारा सञ्चालित सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो । असोजको पहिलो हप्ता देखि पर्यटक सिजन सुरु हुने भएपनि अहिले दैनिक १० देखि २० जना सम्म पर्यटक खोप्राको भ्रमणमा आउने गरेको उहाँले बताउनुभयो ।


दशैं तिहारको सिजनमा खोप्रा पर्यटकले भरिभराउ हुने उहाँले बताउनुभयो । खोप्रामा रहेको सामुदायिक लजमा ६५ जना सम्म पर्यटक बास बस्ने क्षमता रहेको छ । खोप्रा पुग्नका लागि पाउद्धार गाउँदेखि सामुदायिक पदमार्गको विकास गरिएको छ । पाउद्धारबाट करिब ८ घण्टाको पदयात्रापछि खोप्रा पुग्न सकिन्छ ।

मौसम खुलेसँगै खोप्राबाट देखिएको धौलागिरी हिमालको दृश्य । तस्विर रुपेश कार्की\आदेश तिलिजा


Leave a Reply

Your email address will not be published. Required fields are marked *