प्रतिष्ठान म्याग्दीद्वारा कलाकार र पत्रकारलाई सम्मान

विकल्प न्यूज/बेनी
भदौं ८ गते ।

राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार अमृत बास्कुने र कमल खत्रीलाई सम्मान गरेको हो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य अग्रज लोक गायीका धनकुमारी थापा, प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी लगायतले दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।

जिल्लामा प्रत्यक्ष दोहोरीको विजारोपण गरि फुलाउन र पक्राउन गायक पौडेललको महत्वपूर्ण योगदान रहेको छ । प्रतिष्ठानमा दुई कार्यकाल सम्म नेतृत्व गर्नुभएका लोक गायक जिसीले संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । हाल अमेरिका कर्मथलो बनाउनुभएका लोक दोहोरी गायक बोहोरा प्रतिष्ठान म्याग्दीका पूर्व सहसचिव समेत हुनुहुन्छ ।

उहाँका मालिका धुरी सालैजो, घुमौला बेनी संक्रान्ति मेलैमा, बनचरी, शिरैमा शिरबन्दी, प्याउली फुल पहेँलै लगायतका गीतहरु चर्चित छन ।

ईरुप्से डटकमका प्रकाशक तथा गोरखापत्रका जिल्ला सम्वाददाता समेत रहेका पत्रकार बास्कुने र म्याग्दी अनलाईनका प्रकाशक तथा रासस जिल्ला सम्वाददाता पत्रकार खत्रीले जिल्लाको मौलिक कला र संस्कृतिको संरक्षण, उत्थान र उजागर गर्नका लागि पत्रकारीताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँहरुलाई सम्मान गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।