पर्वत समाज युकेद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण



विकल्प न्यूज/पर्वत
साउन २९ गते ।

पेशा,व्यवसाय र रोजगारीका क्रममा बेलायतमा बसोबास गर्ने पर्वतेलीहरुको संस्था पर्वत समाज युकेले जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत गरिब, विपन्न तथा जेहान्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्यको नेतृत्वमा पर्वतको जलजला र विहादी गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

आइतबार जलजला गाउँपालिका ७ धाइरिङ सल्यान स्थित फर्से धाइरिङ माध्यमिक विद्यालय र कृष्णभवन धर्म माविमा अध्ययन गर्ने दश\दश जना विद्यार्थीहरुलाई वरिष्ठ उपाध्यक्ष आचार्यले कापी,कलम,पोसाक र झोला वितरण गर्नुभएको थियो ।
यसैगरी पर्वत समाज युकेले जलजलाको वडा नम्बर ६ स्थित शालिजा मावि र वडा नम्बर ५ को ग्रामप्रकाश मावि लेखफाँटमा अध्ययन गर्ने २४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


सल्यानमा शैक्षिक सामाग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको शैक्षिक विकासका लागि प्रवासी पर्वतेलीहरुको योगदान रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले थालेको शैक्षिक सुधारको अभियानलाई सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।


अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष आचार्यले रोजगारी र पेशाका क्रममा विदेशी मुलुकमा भएपनि आफ्नो जन्मभूमीप्रतिको माया भएको बताउँदै यहाँको विकास र समृद्धिको अभियानमा साथ दिने बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज आचार्यले पर्वत समाज युकेले गरेको सहयोगको प्रशंंसा गनुृहुँदै आगामी दिनमा सहयोग पाउनेमा आशा व्यक्त गर्नुभयो । युकेमा बसेर पनि यहाँको शैक्षिक विकासका लागि गरेको सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो ।

यस्तै सोमबार पर्वत समाज युकेले जिल्लाको विहादी गाउँपालिमा रहेका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री हस्तारण गरेको छ ।

पर्वत समाज यूकेले पर्वतको शिक्षाका लागि गत असारमा आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब २० लाख संकलन गरेको थियो । पर्वतको जलजला,विहादी, मोदी तथा अन्य गाउँपालिकाका जेहेन्दार, निम्न वर्गका विद्यार्थीको सहयोगका लागि उक्त च्यारिटीको आयोजना गरेर सहयोग संकलन गरिएको थियो ।