बेगखोलाकी ललिता मिस नेपालको प्रतिस्पर्धामा(भिडियो सहित)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १९ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका १, बेगखोलामा सामान्य परिवारमा जन्मिनुभएकी ललिता शेर्बुजा अहिले ‘मिस नेपाल–२०२४’ को प्रतिस्पर्धामा हुनुहुन्छ । मिस नेपालको ३० औं संस्करणको २६ फाइनलिस्ट प्रतियोगी मध्यमा ललिता पनि एक हुनुहुन्छ । ललिता एकाउन्टिङमा स्नातक गर्नुभएको छ ।

उहाँ अध्ययनका क्रममा हाल अष्ट्रेलियामा बस्नुहुन्छ । मिस नेपालको प्रतियोगितामा भाग लिन ललिता नेपाल आउनुभएको हो । आज ललिताको भाग्यको फैसला हुँदै छ ।

आफ्नो छोरी मिस नेपालको प्रतिस्पर्धामा सहभागि भएको थाहा पाएपछि गाउँमा रहनुभएका बुवा भविन्द्र शेर्बुजा खुसी हुनुहुन्छ । चार दिदीबहिनीहरु मध्ये ललिता साइली छोरी हो । आज शनिबार मिस नेपाल २०२४ को घोषणा हुँदै छ । छोरीलाई हौसला प्रदान गर्न बुबा भविन्द्र यतिखेर काठमाण्डौं पुग्नुभएको छ ।

छोरी मिस नेपालको प्रतिस्पर्धामा भएको जानकारी पाएपछि छोरीलाई भोट गरि सहयोग गरिदिन बुबाले गाउँघरमा अभियान नै चलाउनुभयो । बुबा शेर्बुजाले भन्नुभयो, ‘‘गाउँघरमा बसेको मान्छे,पहिला मलाई त यो सामान्य जस्तो लागेको थियो । पछि साथीभाई र छरछिमेकका सबैबाट मिस नेपालका वारेमा जानकारी पाएँ । त्यसैले आफन्त र इष्टमित्रहरुलाई छोरीलाई भोट गरी जिताउन अनुरोध गरे ।’’
‘‘आज मिस नेपालको घोषणा हुने भएपछि छोरीले बोलाएर शुक्रबार साँझ काठमाण्डौं आइपुगेको छु । छोरी क्लोज क्याम्पमा भएकाले भेट पाएको छैन् । आज चार बजे हुने प्रतियोगिताको फाइनलमा सहभागी हुने पाउने जानकारी पाएको छु,’’ भविन्द्रले टेलीफोनमा शनिबार विहान भन्नुभयो ।


जिल्लाबाट मिस नेपालको प्रतिस्पर्धामा पुगेकी ललितालाई जिताउन स्वदेश तथा विदेशमा रहेका समेत म्याग्देलीहरुले अभियान नै सञ्चालन गरेका थिए । म्याग्दीको बेनी र गाउँगाउँमा समुह बनाएर ललितालाई जिताउनका लागि भोट गर्न अनुरोध गर्दै एकहप्ता सम्म अभियान सञ्चालन भयो ।


दुर्गम गाउँबाट मिस नेपालको प्रतिस्पर्धामा पुग्नु भनेको हाम्रा लागि गौरबको विषय हो नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगरले भन्नुभयो, ‘‘दुर्गम गाउँको सामान्य परिवारमा जन्मिएर आफ्नो क्षमता र कौशल प्रदर्शन गर्दै मिस नेपालको प्रतिस्पर्धामा सहभागि हुनु हाम्रा लागि खुसीको कुरा हो । ललितालाई जिताउन हामीले स्वदेश तथा विदेशमा सहयोगका लागि अपिल गरेका हौं ।’’
क्यान्सर रोगका कारण एकवर्ष अघि आमा गुमाएकी ललिताको पारिवारिक अवस्था कमजोर भएको थापाले बताउनुभयो । स्नातक गरेकी ललिता अष्ट्रेलियामा माष्टर डिग्रीको हुनुहुन्छ ।


मिस नेपालको प्रतिस्पर्धामा सहभागी भएपछि ललिता म्याग्दी आएर विभिन्न सामाजिक कार्यहरुमा समेत सहभागि हुनुभएको थियो । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा दुईवटा शौचालय निर्माणमा सहयोग गर्नुभएको छ ।


‘स्वच्छ अनि स्वस्थ म्याग्दी’ भन्ने अभियान मार्फत आरोहण पदमार्गमा पर्ने सन्धीखर्कमा ब्यवस्थित शौचालय निर्माण गर्नुभएको पदमार्गका अभियान्ता तथा पर्यटन व्यवसायी तेज गुरुङले बताउनुहुन्छ ।


म्याग्दीका पर्यटकीय गन्तब्यहरुका साथै मौलिक कला, संस्कृतिहरुको प्रचारप्रसार गरी म्याग्दीलाई संसारभरि चिनाउन र स्वर्गीय आमाको अधुरो सपना पूरा गर्न मिस नेपाल प्रतियोगितामा सहभागि भएको ललिताको भनाई छ । अष्ट्रेलियामा रहेका दिदीभिनाजुको सहयोगले प्रतियोगितामा अघि बढ्न छोरीलाई सहज भएको भविन्द्रले बताउनुभयो ।


विभिन्न पेशा तथा रोजगारीका लागि संसारभर छरिएका म्याग्देलीहरुले पनि सामाजिक संजाल मार्फत ललितालाई जिताउने अभियान चलाएका थिए ।


मिस नेपालमा छनौंट भएपनि नभएपनि नेपालको दुर्गम गाउँहरुमा पुगेर जनचेतना जगाउने कामलाई निरन्तरता दिने ललिताको भनाई छ । हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताको ग्रान्ड फिनाले अहिले चार बजेदेखि सुरु भइरहेको छ ।