पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो


ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन ८ गते ।

पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक १२ घण्टापछि खुलेको छ । सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरुबारी र कुनौटेमा सडक माथिबाट खसेको पहिरोलाई डोजरको सहयोगले दश घण्टा लगाएर पन्छाएपछि साँझबाट सडक संचालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब इन्जिनियर सुहनजंग काकीले जानकारी दिनुभयो ।


उहाँका अनुसार सिरुबारी र कुनौटेमा खसेको पहिरो हटाउन करिब दश घण्टा लागेको थियो । सडक खुले सँगै रोकिएका सवारीसाधनहरु गन्तब्यतर्फ लागेको उहाँले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि जोमसोम तर्फ हिडेका भारतीय तीर्थयात्री र मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु घण्टौं सम्म सडकमै अलपत्र परेका थिए ।
कुनौटोमा सडकको बेस नै खसेको थियो र सिरुवारीमा करिब एकसय मिटर दूरीको सडक पहिरोले बगाएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव इन्जिनियर कार्कीले बताउनुभयो । दिनभरको प्रयासपछि आजलाई सडक खुलेको उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘विहान देखि डोजर प्रयोग सडक खुलाएका छौं । सिरुवारीमा भने ठूलो पहिरो खसेको छ । खसेको पहिरो हटाएर एकतर्फी रुपमा यातायात संचालनमा आएको छ । आकाशबाट पानी परेमा फेरी पहिरो खस्ने देखिन्छ ।’’
वर्षातका समयमा पहिरोका कारण सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ भ्रमणमा जाने र फर्किने पर्यटक,तीर्थयात्री र सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ ।


स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा पहिरो, कटान र बाढीका कारण वर्षातका समयमा यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम बढेको छ । म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो रहेको सव इन्जिनियर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिराहरु छन् ।

सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारीसाधन र यात्रुहरु । तस्विर ठाकुरप्रसाद आचार्य