रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार २८ गते ।

अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।
नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान गरेकाले अहिले यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बेनी हुँदै म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ हिडेका यात्रुहरु गलेश्वरमा रोकिएका छन् ।
रघुगंगा नदीको कटानले गायत्री मन्दिर समेत जोखिममा परेको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विहीबार राती देखि परेको अविरल वर्षका कारण रघुगंगा नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीले सडक कटान गरेको छ ।साथै गायत्री मन्दिर उच्च जोखिममा परेको छ ।’’
यसैगरी अविरल वर्षासँगै आएको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डमा पर्ने अधिकांश सडकमा पहिरो खसेको छ । पहिरोका कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपराइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।
उहाँका अनुसार बैंसरी,सिरुवारी,भिरकाटे,दाना खण्ड लगायतका क्षेत्रमा सडक देखि माथिबाट खसेको पहिरोका कारण यातायात पूणरुपमा अवरुद्ध बनेको छ । सडक खुलाउन शुक्रबार दिनभर लाग्ने उहाँले जानकारी दिनुभयो ।

????????????????????????????????????