ताजा समाचार:
Search

मधेसलाई पहाडबाट अलग गरे नेपाल रहँदैन : उपप्रधानमन्त्री केसी

कात्तिक, काठमाडौं । उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी दिएका छन । केसीले प्रदेश सीमांकन गर्दा तराईलाई पहाडबाट अलग गर्न नहुनेमा जोड दिए ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा भने, ‘तराई पहाड र हिमाल एक अर्कासँग निर्भर भूमि हुन । तराईलाई पहाडबाट अलग नगरी नहुने, सुनसरी, मोरङ, झापा, कैलाली कञ्चनपुर नभई नहुने कुराले समथर भु-भाग किन छुट्याउन खोजिदैछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ के गर्न खोजेको भनेर ?’

राष्ट्रिय अखण्डता, राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग सम्झौता नगर्ने केसीले स्पष्ट पारे । उपप्रधानमन्त्री केसीले भारतले अघोषित रुपमा गरेको नाकाबन्दी तत्काल खुल्ने संकेत नदेखेको पनि बताए ।

मधेसको समस्या नेपालको समस्या भएकालेलाई यो भारतको टाउको दुखाइको विषय नभएको उनको भनाइ छ । उपप्रधानमन्त्री केसीले भने, ‘कसैको स्वार्थ अनुसार सार्वभौमिकतामा आँच आउने गरी संघीयताको सीमांकन टुङगिदैन । राज्यको पुनर्संरचना हाम्रो अधिकार हो । कसैको चाहना पुरा गर्न सीमांकन गर्न सकिदैन । अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने गरी केही गर्दैनौं ।’