महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २५ गते ।

    आज महाशिवरात्रीका दिन म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको पूजा आराधना गर्र्ने भक्तजनहरुको निकै चहलपहल देखिएको छ । विहानै देखि भक्तजनको लामो लाइन लागेको हो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेका छन्् । गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा नदी र कालीगण्डकीको पवित्र संगममा पर्दछ ।

गलेश्वर मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी, शिक्षक, प्रहरी, सामुदायिक प्रहरी, क्लब तथा स्थानीय आमा समुह परिचालन भएका छन् । पूजा गर्न आउने भक्तजनहरुलाई सहज बनाउन स्वयंसेवक परिचालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । पूजा आराधाना र दर्शन गर्न पुगेका भक्तजनहरुको लामबद्ध भएर मन्दिर प्रवेश गरेका छन् ।

महाशिवरात्रीका अवसरमा गलेश्वरमा भक्तजनको उत्साहपूर्ण आगमन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटा विशाल चक्रशीलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदैगर्दा यसै स्थानमा सतीदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको दस्तावेजमा उल्लेख छ ।
चक्रशिलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शंख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्णगण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमश्रृङ्गखला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी छन् ।

चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेको पृथ्वीलाई जलमध्येबाट श्री विष्णु भगवानले वराह अवतार लिएर उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएको सुख्खा याममा पनि पानी नसुक्ने जलबराह कुण्डलाई दैविक चमत्कारको रुपमा दर्शनार्थीले लिनेगरेका छन् ।

चक्राकार जलवराह कुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वास रहँदैआएको छ । महाशिवरात्रीका दिन पर्वत बागलुङ, काठमाडौं, पोखरा, चितवन, बुटवल भैरवा, धादिङलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन आएका छन् ।