धार्मिक पर्यटकले भरियो पञ्चकोट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
फागुन २१ गते ।

 

बागलुङ नगरपालिका ६ स्थित प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकहरुको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिकजसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरीबाट भक्तजनहरु पञ्चकोट पुग्ने गरेका छन् ।

फागुनको ९ गते देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा दैनिक रुपमा हजारौंको संख्यामा धार्मिक पर्यटकहरुको भीड लाग्ने गरेको छ । महायज्ञमा आयोजित धार्मिक प्रवचनमा सहभागि हुन, दान गर्न,पूजाअर्चना र दर्शन गर्न देशका विभिन्न जिल्लाहरुबाट दैनिक रुपमा हजारौंको संख्यामा धार्मिक पर्यटकहरुको आगमन भएको आयोजकले जनाएका छन् ।

शनिबार एकैदिन मात्र करिब पचास हजार भक्तजनहरु पञ्चकोटमा आएको आयोजकले जानकारी दिएका छन् । शनिबार विभिन्न जिल्लाहरुबाट ठूलो मात्रामा भक्तजनहरु पञ्चकोटमा आएका थिए । भक्तजनहरुको भीड सँगै बागलुङ देखि पञ्चकोट पुग्ने सडक सम्म नै सवारीसाधनको लामो लाइन लागेको थियो । ट्राफिक कार्यालय बागलुङका अनुसार साना ठूला गरेर शनिबार तीनहजार सवारीसाधन पञ्चकोटमा भित्रिएका छन् ।

शनिबार हामीले अपेक्षा गरे भन्दा धेरै भक्तजनहरु आउनुभयो, महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले भन्नुभयो, ‘‘ पोखरा,चितवन,काठमाण्डौं लगायतका जिल्लाहरुबाट ठूलो संख्यामा भक्तजनहरु आउनुभएको छ । भक्तजनको उत्साहजनक सहभागिताले हामीलाई उत्साह पैदा गरेको छ । शनिबार मात्रै करिब पचास हजार भन्दा बढी भक्तजनले महायज्ञको अवलोकन गरेको अनुमान गरेका छौं ।’’

पञ्चकोटको यज्ञमण्डपमा भक्तजनहरुले भरिएको थियो । गण्डकी माताको मन्दिर,हनुमान बाटिका,मुक्तिनाथ महाघण्ट र हनुमानको मुर्ती लगायतका धार्मिक संरचनाहरुमा भक्तजनहरुको निकै भीड देखिएको थियो । हनुमानको मुर्ती,एकसय ८ कलश,पाँचहजार पाँचसय ५५ किलोको मुक्तिनाथ महाघण्ट लगायतका संरचनाहरु सँग फोटो र भिडियो खिच्न भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ ।

फागुन ९ गते देखि सुरु भएको महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेल आउनुभएको थियो । त्यसयता पञ्चकोटमा प्रधानमन्त्री प्रचण्ड,संघीय सरकारका मन्त्री,मुख्यमन्त्री,मन्त्रीहरु,देशका विभिन्न क्षेत्रका विज्ञ, संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु पञ्चकोट आइसक्नुभएको छ । साथै देश विदेशबाट समेत धार्मिक पर्यटकको आगमन निकै उत्साहपूर्ण छ । प्रत्येक दिन यहाँ विभिन्न विषयमा सम्मेलनहरुको आयोजना हुँदै आएको छ ।

पन्ध्र दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार पाँचसय ५५ जना कर्ताबाट धान अर्पण गरेर पुरिने छ । एक सय ५१ फिट अग्लो विश्व शान्ति गण्डकी कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी निर्माण भइरहेको छ ।
कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको छ । कलश निर्माण गर्न करिब एक अर्ब लाग्ने अनुमान गरिएको छ । पञ्चकोटमा करिब चार अर्ब बराबरको धार्मिक संरचना निर्माण गरेर धार्मिक पर्यटकीय हबका रुपमा विकास गरिने उद्देश्य रहेको छ ।

पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित महायज्ञबाट जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न उद्देश्य राखिएको महायज्ञका संकल्पकर्ता स्वामी मुक्तिनाथ बाबा कमलनयनाचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यहाँ धार्मिक कार्य मात्र भएको छैन । महायज्ञ मार्फत हामीले विश्वभर नै नयाँ सन्देश प्रवाह गरेका छौं । महायज्ञले पञ्चकोटको धार्मिक महत्वलाई थप स्थापित गरेको छ ।’’ पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको महायज्ञका कमलनयनाचार्यले बताउनुभयो ।