पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य
फागुन ९ गते ।

बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । बुधबार देखि सुरु भएको महायज्ञ एकसय ८ जना नौ वर्ष मुनीका कन्याहरु मर्फत सामुहिक रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरियो । महायज्ञको उदघाटन पूर्व भजनकिर्तन,बाजागाजा सहित कलश यात्राले पञ्चकोट परिक्रमा गरिएको थियो ।

बागलुङ नगरपालिका ६ मा पर्ने पञ्चकोटलाई धार्मिक गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित महायज्ञ फागुन २३ गते सम्म संचालन हुनेछ । पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा संचालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका संकल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभयो । उहाँले देशभरका सम्पूर्ण भक्तजनहरुलाई पञ्चकोटमा आउन आह्वान समेत गर्नुभयो ।
जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञ मार्फत जलसम्पदाको संरक्षण,पर्यटन प्रवद्र्धन गर्नुका साथै मौलिक धर्मसंस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्य रहेको महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यले बताउनुभयो ।

महायज्ञको पहिलो दिन पूर्व प्रधानन्यायाधिश गोपाल पराजुली विचार व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको मौलिक धर्मसंस्कृतिको संरक्षण र धार्मिक पर्यटनको विकासमा महायज्ञले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । धार्मिक पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेर धार्मिक पर्यटक भित्राउन सकेमा मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

महायज्ञको दोस्रो दिन विहिवार राष्ट्रपति रामचन्द्र पौडेलले पाँचहजार पाँचसय ५५ किलोको मुक्तिनाथ महाघण्टको विधिपूर्वक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो । महायज्ञको १५ दिन विभिन्न विधामा रहेर गण्डकी तथा राष्ट्रिय सम्मेलनहरु संचालन हुनेछन् । उक्त सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,राजनीतिक दलका केन्द्रिय नेताहरु, संघीय मन्त्रीहरु,मुख्यमन्त्रीहरु लगायत सरकारी उच्च तहका पदाधिकारीहरुको आगमन हुने महायज्ञका प्रवक्ता प्रपन्नचार्यले बताउनुभयो ।

विभिन्न समयमा संचालन भएका महायज्ञ सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरका धार्मिक संरचना निर्माण भइसकेका छन् ।

पञ्चकोटमा निर्माणधिन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । गण्डकी विश्व शान्तिकलश निर्माणधिन अवस्थामा छ । कलश निर्माण गर्न करिब एक अर्ब लाग्ने अनुमान छ । महायज्ञबाट संकलन भएको रकमबाट विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिने आयोजकले बताएका छन् ।