बेनीको प्रकाश माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम (फोटो फिचर)

विकल्प न्यूज/बेनी
फागुन २ गते ।

आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजकै दिनबाट बालबालिकाहरुलाई अक्षरारम्भ गराउने प्रचलन पनि छ । बेनीको प्रकाश माविले सरस्वती पूजाको अवसर पारेर बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रमको अयोजना गरेको छ ।

कार्यक्रममा बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठ,नगरका शिक्षा अधिकृत कमल ढकाल,शिअसंघका अध्यक्ष दिनेश शर्मा लगायतको उपस्थितिमा १४ जना नयाँ विद्यार्थीहरुलाई अक्षर आरम्भ तथा निशुल्क झोला वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।

विद्यालले सुविधासम्पन्न मन्टेसरी कक्षा संचालन गरेको छ । मन्टेसरी र बाल कक्षामा ३८ जना विद्यार्थीहरु अध्ययनरत छन् । मन्टेसरी र बालविकासको फरक फरक कक्षा कोठा र शिक्षकको व्यवस्था गरी पठनपाठनको व्यवस्था गरिएको शिक्षक विनय श्रेष्ठले जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विज्ञान विषय सहित पठनपाठन हुने विद्यालयमा एकहजार एकसय ५० विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालय पछिल्लो समय अभिभावकको रोजाईको विद्यालय परेको छ । बजारका निजी विद्यालय छाडेर प्रकाश माविमा भर्ना गर्नेको संख्या बढेको छ । यसैगरी बेनीमा रहेका सामुदायिक र निजी विद्यालयहरुले पनि आजकै दिन सरस्वती पूजाका साथै बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रमको आयोजना गरेका छन् ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।