गायक राजेन्द्र सापकोटाको ‘हैना भन्नीलाई’ ले मन जित्दै

विकल्प न्युज / बेनी

माघ २४ गते ।


म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ ।
राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ ।
गायक सापकोटा र चर्चित गायीका शान्ति श्री परियारको सुमधुर आवाजमा रहेको गीतको लय तथा शव्द सृजना पनि गायक सापकोटाकै रहेको छ ।
मौसम हिमालीको निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा तेजश रेग्मी, रवि कार्की र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतिको छायाँकन रहेको भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको हो ।

सम्झना छ भन्देउ छैन भन्नीलाई, माया प्रीतिमा आधारित गीतका शव्दहरुले टिकटकमा समेत चर्चा बटुल्दै गएको छ ।
जिल्लाको मंगला गाउँपालिका ३ बरंजा घर भई हाल पोखरामा व्यवसाय संचालन गर्दै आउनुभएका सापकोटा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धवलागिरी अञ्चल कार्य समितिका अध्यक्ष तथा गण्डकी प्रदेश समितिका संस्थापक सहअध्यक्ष समेत हुनुभएको थियो ।

सानै उमेरदेखिनै लोक गायनमा रुचि भएका गायक सापकोटाले हैन भन्नीलाई मौलिक लोक दोहोरी गीतले संगीतप्रेमी श्रोता दर्शकको माया पाउँदै गएको बताउनुभयो ।
‘विगत १५ वर्षदेखि निरन्तर गीत संगीतमै छु, मौलिक सृजनाहरु श्रोता दर्शकलाई प्रस्तुत गर्ने क्रममा अहिले हैन भन्नीलाई लिएर आएको छु’, गायक सापकोटाले भन्नुभयो ।
सापकोटाका हाई हाई सम्झे मायालाई, बज्न थाल्यो सनाई, सोच आँखा बन्द गरेर, जवानीमा धक्का, पिरति मिसाउनी, छेकी छेकी, डाँडै भयो अल्को, सालैजो लगायतका गीतहरु लोकप्रीय छन ।