एलिना चौहानको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

विकल्प न्यूज\बेनी
माघ १४ गते ।

 गायिका एलिना चौहानको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा परेको छ । ६ दिनअघि  सार्वजनिक गीत राम्रो भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो । यो गीतमा एलिनासँगै चर्चित गायक खेम सेञ्चुरीको स्वर छ । यद्यपि, गीतमा एलिनाको तुलनामा खेम छायाँमा छन् ।

यस गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् । गीतमा गायक खेमकै संगीत छ भने एचबिएन किस्मतले यसको एरेन्ज गरेका हुन् ।  रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा आश्मा विश्वकर्मा र ओबी रायमाझीको मोडलिङ छ ।

आश्माको नृत्यलाई लिएर पनि यतिबेला बजारमा निकै चर्चा भइरहेको छ । प्रकाश भण्डारी निर्माता रहेको गीत मोडल ओबी रायमाझीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतलाई आइतवार बेलुकासम्म १५ लाख हाराहारीले हेरेका छन् ।