इन्डियन आइडलको टप १० मा नेपालकी मेनुका

विकल्प न्यूज\बेनी
माघ ८ गते ।

भारतको चर्चित रियालिटी शो इन्डियन आइडलबाट लोकप्रिय बन्दै गएकी गायिका मेनुका पौडेलले उत्कृष्ठ १० मा स्थान सुरक्षित गरेकी छन् । नेपाल आइडल र सारेगामापामा उत्कृष्ठ ११ बाट बाहिरिएकी मेनुकाले ११ नम्बरको ‘च्यानल गेट’ पार गरिन् । मेनुकाका शिक्षक खिलप्रसाद शिवाकोटीले भने,‘११ नम्वरको खड्को पार गरेपछि मेनुकाको सम्भावना थप बलियो बन्दै गएको छ ।’

केही समयअघि मेनुकाले शिवाकोटीसँग फोनमा कुरा गरेकी थिइन् । त्यो बेला उनले ११ नम्बरको खड्को काट्न सके आफूले इन्डियन आइडलको उपाधि जित्न सक्ने दाबी गरेकी थिइन् ।

आइडलका प्रत्येक एपिसोडमा निर्णायक र अतिथिहरुको प्रशंसा कमाउँदै आएकी मेनुका आइतबार बेलुकाको एपिसोडबाट टपटेनमा प्रवेश गरिन् । पियुष, अञ्जना र मुस्कान बटम–थ्रीमा परेका थिए । त्यसमध्ये मुस्कान बाहिरिइन् । उक्त एपिसोडमा अभिनेता ऋतिक रोशन ‘फाइटर’ सिनेमा प्रमोसनका लागि उपस्थित भएका थिए । त्यही कारण ऋतिक अभिनित सिनेमा विशेष एपिसोड थियो ।