भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क

विकल्प न्यूज/बेनी
माघ ८ गते ।

भारतको अयोध्या पु¥याइएको देवशिलाको उत्खनन स्थलमा बनाइने भनिएको देवशिला पार्कको योजना एकवर्ष वितिसक्दा पनि अघि बढ्न सकेको छैन । आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएको शिलाालई पूजा र दर्शनका लागि राखिएको छ ।

एकवर्ष अघि देवशिला अयोध्या पठाउने क्रममा बेनी नगरपालिकाका जनप्रतिनिधहरुले उक्त स्थलमा देवशिला पार्क(उद्यान) बनाउने प्रतिवद्धता गरेका थिए । एकवर्ष पछि फेरी उही स्थानमा लाख बत्ती प्रज्वलन गरिएको छ ।

शिला निकालिएको ठाउँमा उद्यान बनाउने बेनी नगरका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले सार्वजनिक रुपमा प्रतिवद्धता व्यक्त गर्दै आउनुभएको थियो । तर चालु आर्थिक वर्षमा नगरपालिकाले पार्क बनाउनका लागि बजेट विनियोजन गरेनन् ।

भारतको अयोध्यामा तत्कालिन अवस्थामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा पार्क (उद्यान) बनाउने योजना बेनी नगरले सारेपनि अहिले सम्म कुनै सुरसार गरिएको छैन । आज लाख बत्ती प्रज्वलन गर्नुपर्ने भएकाले त्यहाँ हल्का सरसफाई मात्र गरिएको थियो ।

धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट गत वर्ष दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । उक्त स्थलमा देवशिला पार्क बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गरिने नगर प्रमुख केसीले सार्वजनिक कार्यक्रमहरुमा बताउदै आउनुभएको थियो । आज लाख बत्ती प्रज्वलनका क्रममा पनि उहाँले धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्न छाड्नुभएन ।

तत्तकालिन समयमा देवशिला निकालिएको ठाउँको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न स्मारकसहितको उद्यान बनाउने भनिएको थियो ।

मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गरेर देवशिला उत्खननस्थलको संरक्षण र प्रवद्र्धन गर्ने बेनी नगरले सारेको योजना जनप्रतिनिधिकै वेवास्ताका कारण अहिले अलपत्र परेको छ । उक्त स्थानमा एकवर्षको अवधिमा कुनै पनि कामहरु भएनन् । देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । नजिकै रहेको डम्पिङ साइडलाई हटाउने पनि कुनै पहल भएको छैन ।

हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरूपको मूर्ति निर्माण गर्न शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिला लगिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला उपहार दिइएको हो ।
‘‘सोमबार भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएका दुईवटा देवशिला राममन्दिरको गर्भगृहमा राखिएको छ,’’ जगदगुरु हिमालय बाबाले भन्नुभयो, ‘‘तिनै देवशिलाको उद्गमस्थल कालिगण्डकी नदी किनारमा लाख बत्ती प्रज्वलन गरेर विश्वभर धार्मिक सन्देश प्रवाह गरेका छौं ।’’ यस श्रीरामघाटलाई गंगा स्नान स्थलका रुपमा विकास गरी कागबेनी,मुक्तिनाथ र दामोदरकुण्ड जाने धार्मिक भक्तजनहरुले यसै क्षेत्रमा कालिगण्डकीको स्नान गर्दा पुण्य प्राप्त हुने सन्देश प्रवाह गर्न खोजिएको उहाँले बताउनुभयो । धार्मिक क्षेत्रको गुरु नै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि जुटेपछि भने केही आशा पलाएको छ ।