गलेश्वर स्थित देवशिलाको उद्गमस्थलमा पूजापाठ र दीप प्रज्वलन (फोटोसहित)

ठाकुरप्रसाद आचार्य /बेनी
माघ ८ गते ।

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधाम स्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।

गत वर्ष गलेश्वर नजिक कालिगण्डकी नदी किनारबाट रामललाको मुर्ति बनाउन दुईवटा देवशिला अयोध्या लगिएको थियो । देवाशिला उत्खनन गरिएको कालिगण्डकी नदी किनारलाई श्रीरामघाट नामाकरण गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाले गलेश्वर नजिक देवशिलाको उद्गमस्थल कालिगण्डकी किनारमा सोमबार दिउसो १२.२९ मिनेटको सुभ साइतमा जगदगुरु हिमालय बाबाको उपस्थितिमा लाख बत्ती प्रज्ललन र पूजापाठ गरिएको हो ।


गलेश्वर शिवालय मन्दिरबाट भजनकृर्तन र बाजागाजा सहित शोभायात्रा गरेर देवशिला स्थलमा आएर लाख बत्ती बालिएको हो । देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । उक्त देवशिलाबाट रामललाको मुर्ति नबनाएपनि अहिले पूजा र दर्शनका लागि राममन्दिरको गर्भगृहमा राखिएको छ ।

ADV


देवशिला उत्खनन् गरेको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारतको अयोध्यामा रामको मुर्तिको प्राणप्रतिष्ठा गर्ने साइत पारेर हामीले देवशिलाको उद्यगमस्थलमा दीप प्रज्वलन गरेका छौं । अगामी दिनमा यस स्थलमा पूर्वाधार निर्माण गरेर धार्मिक स्थलका रुपमा विकास गर्ने योजना छ ।’’

‘‘सोमबार भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएका दुईवटा देवशिला राममन्दिरको गर्भगृहमा राखिएको छ,’’ जगदगुरु हिमालय बाबाले भन्नुभयो, ‘‘तिनै देवशिलाको उद्गमस्थल कालिगण्डकी नदी किनारमा लाख बत्ती प्रज्वलन गरेर विश्वभर धार्मिक सन्देश प्रवाह गरेका छौं ।’’ यस श्रीरामघाटलाई गंगा स्नान स्थलका रुपमा विकास गरी कागबेनी,मुक्तिनाथ र दामोदरकुण्ड जाने धार्मिक भक्तजनहरुले यसै क्षेत्रमा कालिगण्डकीको स्नान गर्दा पुण्य प्राप्त हुने सन्देश प्रवाह गर्न खोजिएको उहाँले बताउनुभयो ।

हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरूपको मूर्ति निर्माण गर्न भन्दै शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिला लगिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला उपहार दिइएको हो । तर उक्त शिलाबाट मुर्ति बनाउन विवाद भएपछि नबनाई राखिएको छ ।