‘‘ विदेश जाने मन छैन,माटोमै पसिना बगाउछु’’ (भिडियो\फोटो सहित)

ठाकुरप्रसाद आचार्य \जलजला
म्याग्दी,पुस २६ गते ।

‘‘छरछिमेकका साथीभाई धेरै पैसा कमाउने लोभमा विदेश तिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो ।

म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका ३८ वर्षीय युवा कृषक आचार्यले विगत २३ वर्ष देखि निरन्तर रुपमा गाउँमै व्यावसायिक ताजा तरकारी उत्पादन गर्दै आउनुभएको छ । उहाँ पालिकाकै सफल किसान समेत हुनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘‘परिश्रम गरे यही माटोमा सुन फलाउन सकिन्छ । पैसा कमाउन विदेश जानु पर्दैन ।’’

कृषक आचार्यले बाउबाजेले अंगालेको कृषि पेसालाई निरन्तरता मात्र दिनुभएको छैन उहाँले कृषि पेशाबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने समाजमा गतिलो उदाहरण बनेर देखाउनुभएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्न उहाँले जलजला एकिकृत कृषि फर्म दर्ता गर्नुभएको छ । कृषि पेशाका साथै आचार्य गाउँघरमा समाजसेवा र राजनीतिमा पनि सक्रिय हुनुहुन्छ ।

आचार्यले अहिले सल्यानको फाँटमा करिब १३ रोपनी क्षेत्रफलमा काउली,बन्दागोभी,गोलभेडा,मुला,साग लगायतका ताजा तरकारी खेती गर्नुभएको छ । बेमौसममा तरकारी उत्पादन गर्न चारवटा प्लास्टिकका घर आचार्यले निर्माण गर्नुभएको छ । तरकारी खेतीका लागि केही जमिन भाडामा लिनुभएको छ ।

गोलभेडा र काउली टिपेर बजार लैजान हिजोआज आचार्यलाई भ्याई–नभ्याइ छ । अघिल्ला वर्षहरुमा भन्दा यसपालीको सिजनमा गोलभेडा र काउली राम्रो उत्पादन भएकाले आचार्यको मुहारमा खुसी छाएको छ । उहाँले भन्नुभयो, ‘‘बाउबाजेले पसिना बगाएको माटोमा मैले पनि भविष्य देखें । यही माटोमा श्रम र पसिना बगाउँदा खुसी मिलेको छ ।’’

प्लास्टिक घरभित्र यतिखेर गोलभेडा र काउली खेती राम्रो फस्ट्याएको छ । विउन्सरी जातका गोलभेडा लटरम्म फलेका छन् । भदौं महिनामा प्लास्टिक घरभित्र लगाएको गोलभेडाको बोटले चैत महिनासम्म फल दिने उहाँले बताउनुभयो । गोलभेडाबाट यो सिजनमा करिब दुई देखि तीनलाख रुपियाँ सम्म आम्दानी हुने उहाँले सुनाउनुभयो ।

प्लास्टिक घरभित्र लगाएको गोलभेडा खेतीले लामो समयसम्म उत्पादन दिने,धेरै फल्ने र राम्रो पनि हुने उहाँको अनुभव छ । उहाँको अहिले प्लास्टिक घरभित्र लोभलाग्दो गोलभेडा खेती छ । अहिले गोलभेडा र काउली बेनी बजारमा होलसेलमा चालिस देखि पचास रुपियाँ प्रतिकेजीमा बिक्री हुने गरेको आचार्यले बताउनुभयो ।

तरकारी बिक्री गरेर वार्षिक रुपमा सबै खर्च कटाएर ६ देखि ८ लाख रुपियाँ सम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । तरकारी खेतीबाट छोराछोरीलाई पढाउन,घर खर्ची चलाउन सहज हुनुका साथै अलि अलि बचत हुने गरेको उहाँको भनाई छ ।


सडक सुविधा भएकाले उत्पादन गर्न सके बजार पु¥याउन सहज भएको उहाँले बताउनुभयो । यहाँका किसानले बेमौसममा उत्पादन गरेको तरकारी लिन व्यापारीहरु खेतबारीमै पुग्ने गरेका छन् ।

‘गहुँ,धान,कोदो र मकै खेती गर्दा परिवार पाल्न धौधौ थियो । तरकारी खेती गर्न थालेपछि परिवार पाल्न,छोराछोरीलाई पढाउन निकै सहज भएको छ । सानोतिनो काम गर्नका लागि कसैसँग हात थाप्न जानुपरेको छैन’, आचार्यले भन्नुभयो, ‘सबै परिवार यसै कृषि पेशामा रमाएका छौं । घरपरिवार मिलेर खेती गर्दा मनमा खुसी मिलेको छ । तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत पनि भएको छ ।’

उहाँले भन्नुभयो, ‘‘विदेश जाने त कुरै नगरौं पासपोर्ट कस्तो हुन्छ मलाई थाहा छैन । कृषि पेशामा उर्जाशिल उमेर वित्न लाग्यो । आफ्नै माटोमा पसिना बगाउने अनि सुन फलाउने हो ।’’ म स्थानीय विद्यालयमा शिक्षिका छु विहान बेलुका श्रीमानलाई सघाउने गरेकी छु आचार्यको श्रमती संगिता आचार्यले भन्नुभयो, ‘‘कृषि पेशाबाट हाम्रो परिवार सन्तुष्ट छ । सरकारी सेवा भन्दा कृषि पेशा नै राम्रो लागेको छ ।’’

तीनवर्ष अघि गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागू गरेपछि यहाँका कृषकलाई प्लास्टिक घर निर्माण,भकारो सुधार र कृषि औजारमा ८५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आउन थालेपछि व्यावसायिक तरकारी उत्पादन गर्ने युवा किसानको संख्यामा बृद्धि भएको छ । स्थानीय सरकारले पनि कृषकलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम बनाउनुपर्ने कृषक आचार्यको सुझाव छ । साभार ः गोरखापत्र अनलाइन