ताजा समाचार:
Search

पूर्वाधारको पखाईमा बरंजाको पर्यटकीय स्थल गाम्फा धुरी

विकल्प न्यूज\बेनी
पुस ११ गते ।

म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरी अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । म्याग्दीको मंगला ४ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका –३ को सिमानामा अवस्थित गाम्फाधुरी स्वर्गद्वारीबाट आउनुभएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेको ऐतिहासिकस्थल हो ।

उक्त स्थानबाट पूर्वी रुकुमको चुरेन हिमालदेखि गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे्र हुँदै गार्खामा रहेका मनास्लु हिमाल सम्मका दर्जनौ हिमश्रृङ्खलाहरु आँखै अगाडी देख्न सकिन्छ । म्याग्दी, बाग्लुङ, पर्वत र कास्की जिल्लाका समेत अधिकांश ग्रामिण वस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्दले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ ।

ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ । तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले जोकोही पनि आकर्षित हुन्छन् । यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालिगुँरास, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पाइन्छन् ।

मङ्गला –४, वडा कार्यालयले गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि पहल थालेको छ ।
वडा अध्यक्ष लालबहादुर रोका मगरले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वडाले पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी परमानन्दज्युले तपस्या गरेर ज्ञान प्राप्त गरेको ऐतिहासिकस्थल पनि हो । यहाँ भग्नावशेषको रूपमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गर्न सकेमा ठुलो सङ्ख्यामा तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।’’

वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गर्नुभएको इतिहास रहेको वडा अध्यक्ष रोकाले बताउनुभयो । यसैगरी स्वामी परमानन्दले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गर्नुभएको थियो ।

तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्द सहित उहाँका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा अध्यक्ष रोकाले बताउनुभयो । ‘‘गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्धनका लागि गाउँपालिका, प्रदेश र संघ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको व्यवस्था गरिदिन माग गरिसकेको छु’’ उहाँले भन्नुभयो ।

पर्यटनको क्षेत्रमा गाम्फाधुरीको प्रचुर सम्भावना रहेकाले यसको प्रचार–प्रसार सहित पूर्वाधार निर्माण गर्ने आवश्यक रहेको वडा सदस्य होममाया पुन बुढाथोकीले बताउनुभयो ।
गाउँपालिकाका सब–इन्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने बताउनुभयो । गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा संघ सरकार संग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले स्टिेमेट तयार गर्न लागेको बोहराले बताउनुभयो ।

पालिकाभित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको विकास गरि पर्यटन प्रवर्धन गर्न पालिका योजनाबद्ध ढंगले अघि बढेको मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो ।

बेनीबाट तातोपानी हुँदै मंगला ४ बुकेनीमा सवारी साधनमार्फत १ घण्टाको यात्रा र बुकेनीबाट करिब साढे ३ घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मंगला ३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सोही धुरीको नामबाट मङ्गला –४, मा युवा क्लबको नामकरण समेत गरिएको छ । तस्विरहरु अमित विश्वकर्मा