बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर २८ गते ।

म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवार देखि सुरु भएको छ ।
विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीसय ७८ इभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेतालाई ५१ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो ।प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागिता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६\६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ । त्यसैगरि एथलेटिक्सतर्फ २५ र कँरातेमा ४ विद्यालयले सहभागिता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १० र छात्रा ४ विद्यालय , उस्सु खेलमा छात्रातर्फ ५ र छात्रतर्फ ४ विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले खेलकुदले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बेनीको खुलामञ्चलाई स्तरीय रंगशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबिचमा सहकार्य गरि प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक बर्ष आयोजना हुने विद्यालय स्तरका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा पहिचान गरि क्षेत्रीय र राष्ट्रिय स्तरमा पु¥याउन सहयोगी भूमिका खेलेकामा जोड दिनुभयो ।

नगरपालिकाका मेयर सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आबश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा धेरै भन्दा धेरै विद्यालयलाई सहभागी गराउने गरि नगरपालिकाले प्रतियोगिता सञ्चालन गराउने प्रयास गरेको बताउनुभयो ।

नगरपालिकाका उपमेयर ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबल तर्फ छात्रहरुको तुलनामा छात्राहरुमा न्यून विद्यालयले सहभागीता जनाएको बताउँदै विद्यालयहरुले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताले खेल क्षमताको पहिचान र विद्यार्थीहरुलाई अनुसासीत बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रम पूर्व विद्यार्थीहरुले बजारमा बाजागाज सहित ¥याली निकालेका थिए ।