पदमार्ग बनाउन गाउँलेले थालेको श्रमदान अभियानमा मन्त्रीको साथ (फोटोसहित)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर २८ गते ।

जिल्लाको एक गाउँमा पदमार्ग बनाउन गाउँलेहरुले थालेको अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पनि एकदिन श्रमदान गर्नुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका २ राखु भगवतिका स्थानीयहरुले गाउँमा पदमार्ग निर्माणका लागि तीन महिना देखि श्रमदान अभियान थालेका छन् ।

श्रमदान अभियानमा संलग्न भएका गाउँलेहरुलाई हौसला दिन मन्त्री ज्ुग्जाली बुधवार श्रमदान गर्न पुग्नुभएको हो । श्रमदान अभियानमा मन्त्री पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।
मन्त्री जुग्जाली सहित प्रदेश सभाका सदस्य हरिबहादुर भण्डारी र पूर्व सांसद विनोन केसी गाउँलेहरुको अभियानलाई साथ दिन श्रमदान गर्न पुग्नुभएको थियो । मन्त्री र सांसद श्रमदान गर्न पुगेपछि पदमार्ग निर्माणमा जुटेका स्थानीयहरु उत्साहित बनेका छन् ।

नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले स्थानीयवासीहरुको सहयोगमा माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्ग निर्माणका लागि तीन महिना देखि श्रमदान अभियान संचालन गर्दै आएको वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवालले जानकारी दिनुभयो ।

गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन जीर्ण पदमार्ग रहेको ठाउँमा पक्की पदमार्ग निर्माण अभियान अन्तगरत श्रमदानस्थलमा जिल्ला समितिको तर्फबाट जिल्ला संयोजक समेत रहनु्भएका जुग्जालीले दश हजार रुपियाँ आर्थिक सहयोग समेत प्रदान गर्नुभएको वडा कमिटीका अध्यक्ष कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँलेहरुको श्रमदान अभियानमा मन्त्री नै आएपछि हामीहरु खुसी भएका छौं । उहाँले दिनभर हामीसँगै श्रमदान पनि गर्नुभयो,पदमार्गलाई पूर्णता दिन प्रदेशबाट बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’’

त्यस्तै भगवती स्थित स्थानीय युवाहरुले सुरु गरेको रिसिनचौतारी हुँदै सिरुबारी आर्यघाट जाने पदमार्ग निर्माण अभियानमा मन्त्री जूग्जालीले पदर्माग निर्माण अभियानका सदस्य आकाश केसीलाई १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । श्रमदान गर्न पुग्नुभएका मन्त्री जुग्जालीले राज्यको तर्फबाट गर्नुपर्ने काम समुदायको नेतृत्वमा श्रमदान र सहयोग जुटाएर गर्नुभएको कामको प्रंशसा गर्नुभयो । गाउँलेहरुले थालेको पदमार्ग निर्माणलाई प्रदेश सरकारले सहयोग गरेर पूर्णता दिने मन्त्री जुग्जालीको भनाई थियो ।

श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्थानीयवासीको उत्साहजनक रुपमा श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गरेको पदमार्ग निर्माणको नेतृत्व गरेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका राखु भगवतीबासी लगायतबाट हालसम्म १६ लाख रुपियाँ भन्दा बढी रकम संकलन भएको बताउनुभयो । करिव एक किलोमिटर पाँचसय मिटर पदमार्ग बनाउन स्थानीय युवाहरुले बिहानदेखि साँझसम्म नै श्रमदानमार्फत बेनी– जोमसोम सडकबाट गिट्टी बालुवा,सिमेन्ट उकालो र जङ्गलको बाटोबाट बोकेका छन् ।

समुदायले मन खुलाएर सहयोग गरेपछि ज्यालामा सिपालु हालेर पदमार्ग अभियानालाई निरन्तरता दिएको कटुवालले बताउनुभयो । पदमार्ग निर्माणमा खटिने श्रमिकलाई राखुस्थित विभिन्न टोलका आमासमूहले निशुल्क खाजाको व्यवस्था गरेका छन् ।