आहा जमेर बरफ बनेको अन्नपूर्णको पञ्चकुण्ड ताल ! (फोटोसहित)

विकल्प न्यूज\बेनी
मंसिर २१ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुन्द्री सतह देखि चारहजार एकसय ९५ मिटरको उचाईमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । आधारशिविर पुगेका आन्तरिक पर्यटकहरु जमेको तालमा रमाउँदै तस्विर खिचेका छन् ।

करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल यतिखेर सवै जमेर बरफ बनेको छ । ताल जमेर बरफ बनेपछि आन्तरिक पर्यटकहरु तालको अवलोकन गर्न पुग्ने गरेको नारच्याङका पर्यटन व्यावसायी तेज गुरुङले बताउनुभयो । यो सिजनमा म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन,झापा लगायतका क्षेत्रबाट आन्तरिक पर्यटकहरु आधारशिविरको भ्रमणमा आएको उहाँले बताउनुभयो ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुग्न सकिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएपछि आन्तरिक पर्यटकको संख्या बढेको हो ।

यसैगरी अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्धनका लागि विज्ञहरु सहितको टोली नारच्याङ हुँदै अन्नपूर्ण हिमालका प्रथम आरोही ‘मौरीस हर्जोग’ले प्रयोग गरेको पदमार्ग पछ्याउँदै आधार शिविर पुगेर बिहिबार फर्किएको छ ।

अन्नपूूर्ण गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा भएको सोमबारदेखि शुरु भएको पदयात्रामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, विज्ञ, जनप्रतिनिधि, प्राबिधिक, पत्रकार र स्थानीय अगुुवाहरुको सहभागिता थियो ।

 

आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, नेपाल सरकारका पुर्व मुुख्य सचिव डा. सोमलाल सुुवेदी, पर्यटन विज्ञ तथा सिटिईभिटिका पुर्व सदस्य सचिव रामहरी कोइराला सहितको २५ जनाको टोली नारच्याङको हुमखोला देखि दुई दिन पैदलयात्रा गरेर आधार शिविर पुगेको थियो ।

“अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौ” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो “यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्धन गर्ने उद्देश्यले पदयात्राको कार्यक्रम गरिएको हो ।” नवविकल्प साप्ताहिकको अंक १४ मा प्रकाशित  /तस्विरहरु अमित विश्वकर्मा