पुनहिलमा रमाउदै पर्यटक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,घोडेपानी, मङ्सिर १७ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । घोडेपानी देखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि ३ हजार दुईसय १० मिटरको उचाईमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् ।

हिजोआज मौसम सफा भएकाले पुनहिल पुगेका पर्यटकहरु निकै रमाएका छन् । दैनिक रुपमा दुईसय देखि तिनसयको हाराहारीमा आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल आएको टिहाउसका संचालक विरेन पुनले बताउनुभयो ।

विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल यतिखेर निकै बढेको छ । पोखराबाट पहिलोपटक पुनहिलको भ्रमणमा आउनुभएकी शुसिला गुरुङले पुनहिल साच्चिकै मनोरम स्थल भएको अनुभव बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘म घोडेपानी र पुनहिल पहिलोपटक आएको हुँ । पुनहिल साच्चिकै सुन्दर स्थल रहेछ ।’’

यस्तै बुटबलबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु पुनहिलमा रमाउँदै फोटो खिचेका थिए । पहिलो पटक पुनहिलको भ्रमणमा आएको बताउँदै विद्यार्थी अस्मिता पाण्डेले घोडेपानी पुनहिल क्षेत्र निकै सुन्दर रहेको अनुभव सुनाउनुभयो ।

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्मनै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्किने गरेको टिहाउसका संचालक पुनले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । पर्यटकका लागि घोडेपानीमा साना ठूला गरेर २६ वटा सुविधासम्पन्न होटलहरु छन् ।