जलजलामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।

पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ मल्लाज स्थित विद्याज्योती माविमा विहिवार देखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो ।

जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभयो । प्रतियोगिताले विद्यार्थीहरुमा भएको खेल क्षमताको विकास र प्रतिभा प्रष्फुटनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जलजलाले शैक्षिक क्षेत्रमा थालेको सुधारको अभियानले नयाँ आशा संचार गरेको उहाँको भनाई थियो ।

 

पालिका अध्यक्ष राजुप्रसाद आचार्यले खेलकुदलाई शिक्षासँग जोडने योजना अनुसार यसवर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलोपटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको बताउनुभयो । ‘‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘अनुशासित,लगनशिल,मेहनती जनशक्ति उत्पादन गर्न खेलकुदले सहयोग पुग्ने आशा गरेका छौ ।’’

प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स,कबड्डी, र भलिबल विधामा तीनसयजना भन्दा बढी खेलाडी विद्यार्थीहरुले सहभागिता जनाएको पालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।
प्रत्येक इभेन्ट,बिधागत र समग्र प्रथम,द्धितीय र तितृय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल,प्रमणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

भलिबलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः छ हजार,चारहजार पाँचसय र तीनहजार,कबड्डीमा प्रथम,द्धितीय र तृतीय हुनेलाई चारहजार पाँचसय,तीनहजार र एकहजार पाँचसय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीलाई व्यक्तिगत एकहजार दुईसय देखि दुई हजार रुपियाँ सम्म पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल,नेकपा एमालेका पालिका अध्यक्ष बाबुराम कार्की,माओवादी केन्द्रका यामबहादुर जिसी,विद्याज्योती माविका प्रअ रघुनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुृभएको थियो ।

उद्घाटन कार्यक्रममा पर्वत जिससका उपप्रमुख सोमबहादुर जिसी,वडाध्यक्षहरु,विभिन्न पार्टीका प्रतिनिधिहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले मार्चपास गरेका थिए । महिलाहरुले नौमती बाजा बजाएर पाहुनालाई स्वागत गरेका थिए ।