आहा! हिमालको काँखमा सुन्दर लेते गाउँ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दी,मङ्सिर ३ गते ।

     

उत्तरमा धौलागिरि,पूर्वतर्फ निलगिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा छ मुस्ताङको पर्यटकीय स्थल सुन्दर लेते गाउँ । कालिगण्डकी कारिडोर सडकमा पर्ने थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेबाट धौलागिरि,टुकुचे पिक,मानापाथी,निलगिरी र अन्नपूर्ण हिमालको सुन्दर दृश्य आँखै अगाडी अवलोकन गर्न सकिन्छ ।

मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु लेतेमा एकछिन बसेर हिमालको अवलोकन गर्ने गरेको लेतेका स्थानीयवासी तथा पर्यटन व्यावसायी अमित तुलाचनले बताउनुभयो । कालोपत्र फराकिलो सडक र हिमालको दृश्यमा पर्यटक रमाउने गरेको उहाँले बताउनुभयो ।

विदेशी पर्यटकहरु एकरात लेतेमै बास बसेर जोमसोमतर्फ जाने गर्दछन् उहाँले भन्नुभयो, ‘‘कच्ची सडकको लामो यात्राले थाकेका पर्यटकहरु यहाँ आएपछि आनन्दको अनुभूती गर्दछन् । हिमालको सुन्दर दृश्यले पर्यटकको थकान मेटाउछ ।’’ कालिगण्डी करिडोर अन्तर्गत म्याग्दी खण्डमा कच्ची सडकका कारण सास्ती खेपेका पर्यटकहरु लेतेमा आएपछि सुन्दर हिमालको दृश्यबाट मोहित हुनेगरेको उहाँको भनाई छ ।