अखिल क्रान्तिकारीका एक पदाधिकारीसहित २१ सदस्य ‘नयाँशक्ति’मा

 २६ कात्तिक, काठमाडौं । एमाओवादी निकट अखिल क्रान्तिकारीबाट एक पदाधिकारीसहित २१ सदस्य डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिमा लागेका छन् ।

अखिल क्रान्तिकारीको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये १२ जनाको पदाधिकारी छ । त्यही पदाधिकारीमध्येबाट होमकुमारी पौडेलसहित २१ सदस्य नयाँ शक्तिमा लागेका छन् । पौडेल अखिल क्रान्तिकारीको पूर्वसचिवसमेत हुन्, जतिबेला क्रान्तिकारीका १८ सचिव थिए ।

खासै असर पर्दैैन : मल्ल

Ramesh-malla

यसैगरी तमुवान संयोजक कुमार तिवारी, अवध संयोजक विमल गिरी र पूर्वाञ्चल सहसंयोजक उमेश थापा पनि ‘नयाँ शक्ति’मा लागेका छन् ।

राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु गोविन्द केसी, देवेन्द्र पाख्रिन, युवराज दाहाल, सन्दीप अधिकारी, श्यामबाबु गौतम, प्रकाशचन्द्र सापकोटा, रुपनारायण श्रेष्ठ, पदमराज विष्ट, राजेश आले, पशुपति नेपाल, शिव देवकोटा, नेत्र अधिकारी, दिनेश पौडेल, सन्तोष आचार्य, युवराज ढकाल र राधेश्याम साह पनि अखिल क्रान्तिकारीबाट बाहिरिएका छन् । उनीहरुलाई सात दिन भित्र स्पष्टिकरण माग गरिएको छ ।

अखिल क्रान्तिकारीका तमुवान संयोजक तिवारी डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखाका हुन् । तमुवानबाट उनी एक्लै बाहिरिएका छन् । यसैगरी अवध संयोजक विमल गिरी पनि एक्लै संगठनबाट बाहिरिएको स्रोतले बतायो ।

उनीहरु बाहिरिए पनि अखिल क्रान्तिकारीलाई खासै असर नपर्ने मल्लले बताए । मल्ले अनलाइनखबरसँग भने, ‘पार्टी, संगठनमा आउने-जाने चलिरहन्छ, यो स्वाभाविक प्रक्रिया हो । यसबाट संगठनलाई खासै असर पर्दैन । कोही तरंगित हुनुपर्दैन ।’

समानान्तर समिति गठन

केन्द्रीय समितिको पूर्ण बैठकसम्मलाई कामकाज गर्ने गरी तमुवान राज्यको कार्यबाहक संयोजकमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य अमरदिप पराजुली, अवध कार्यबाहक संयोजकमा युगराज पाण्डे तथा मिथिला राज्य समितिमा महेशलाल यादवलाई जिम्मा तोकिएको छ ।

२० औं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य जेकेन्द्र श्रेष्ठलाई भने साधारण सदस्यसमेत नरहने गरी संगठनबाट क्रान्तिकारीले हटाएको छ । श्रेष्ठले संगठनको आधिकारीक निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सामानान्तर संगठन बनाएको भन्दै निस्कासित गरिएको हो ।

‘तीन दिनभित्र केन्द्रीय कार्यालयले स्पष्टीकरण दिन गत असोज २७ गते नै उहाँलाई लिखित निर्देशन दिएका थियौं,’ मल्लले अनलाइनखबरसँग भने, ‘तर, उहाँले स्पष्टिकरण पत्र नै नबुझि संगठनको निर्देशनलाई अस्वीकार गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको छ ।’

२० औं राष्ट्रिय सम्मेलन फागुन १ गते

यसैबीच अखिल क्रान्तिकारीको २० औं राष्ट्रिय सम्मेलन आउँदो फागुन १ गते काठमाडौंमा आयोजना हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा आयोजना हुने राष्ट्रिय सम्मेलनको उदघाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

सम्मेलनको विस्तृत कार्यक्रम आयोजक समितिको पूर्ण बैठकले बनाउने छ । सम्मेलन आयोजक समितिको बैठक आगामी मंसीर २० गते काठमाडौंमा बस्ने अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले जानकारी दिए । अखिल क्रान्तिकारीले मल्लको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएको छ ।

राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारीका सदस्यहरुको नविकरण प्रक्रिया सुरु पनि भैसकेको छ । अखिल क्रान्तिकारीका देशभर २ लाख सदस्य रहेको संयोजक मल्लले बताए । विश्वविद्यालय समिति तथा राज्य समितिका बैठक सम्पन्न गरी समयावधि पूरा गरेका जिल्ला र इकाइ सम्मेलनका कार्यक्रम निर्माण गर्न निर्देशन दिइएको छ ।

नाकाबन्दीविरुद्ध संघर्ष

अखिल क्रान्तिकारीले राष्ट्रियता र जनजीविकाका विषयमा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा समेत गरेको छ । भारतको नाकाबन्दी, आयल निगमका कार्यकारी निर्देशक लगायतका तेल माफीया विरुद्ध र इन्धनको सहज आपुर्तिका लागि संघर्ष संचालन गर्ने निर्णय भएको क्रान्तिकारीका संयोजक मल्लले अनलाइनखबरलाई बताए ।

यसैगरी त्रिभुवन विश्वविद्यालय र अरु विश्वविद्यालयका शैक्षिक समस्या केन्द्रीत गरी विश्वविद्यालय र शिक्षामन्त्रालयमा ज्ञापन पत्र पेश गरी चरणबद्ध शैक्षिक आन्दोलनको घोषणा गर्ने, मेरीट बेसीसलाई तोड्ने र तोकिएको शुल्कविपरित भर्ना लिने मेडिकल कलेजको मनोमानीविरुद्ध पनि आन्दोलन संचालन गर्ने मल्लले जानकारी दिए ।  onlinekhabar