नेपाल संवतका अवसरमा बेनीमा प्रभातफेरी

ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक २८ गते ।

नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिहरुले पनि सहभागिता जनाएका थिए ।

बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले नेपाल संवत सवै जातजातिको गौरबको विषय भएकाले सवै मिलेर यसलाई हर्षउल्लासका साथमा मनाउनुपर्ने धाराणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले समाजलाई विभिन्न जातजाति,भाषा र धर्मका नाममा विखण्डन गर्ने प्रयास भइरहेका छ । यसबाट सचेत हुँदै एकतावद्ध भएर हाम्रो मौलिक,कला संस्कृतिलाई संरक्षण गर्नुपर्दछ ।’’

आफ्नो भाषा र संस्कृतिलाई संरक्षण गर्ने हिसाबमा नेवार समुदाय अग्रस्थानमा रहेको उहाँले बताउनुभयो । नेपाल संवत राष्ट्रिय संवतका रुपमा सरकारले पनि घोषणा गरिसकेकाले बेनीमा रहेका नेवार समुदायले पनि सवै जातजातिलाई समावेश गरेर नेपाल संवत मनाउनु उदाहरणीय भएको मन्त्री जुग्जालीको भनाई थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा संविधानसभाका सदस्य गोविन्द पौडेल,जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले नेपाल संवतलाई सवैको साझा पर्वका रुपमा मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी नेवार समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट हुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

नेपाल भाषा मंकाःखलका कार्यबाहक अध्यक्ष कुविरकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको स्वागत र सिर्जना श्रेष्ठले संचालन गर्नुभएको थियो ।