भकिम्लीको बेलढुङ्गाबाट हिमालको लहर हेर्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / बेनी
कात्तिक १५ गते ।

आँखै अगाडी चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरीपरी रमणीय डाँडापाखा अनि सुन्दर ग्रामिण वस्ती । यो हो बेनी नगरपालिका ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट आँखै अगाडी सेता हिमाल र विहान सूर्यदयको सुन्दर दृश्यवलोकन गर्न सकिन्छ ।

मुसुङ गाउँको शिरमा रहेको बेलढुङ्गामा चारैतिर घनाजंगल छ । जंगलको बीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान छ । चट्टान शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको चिटिक्कको दुई सय ६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ । यहाँबाट पूर्वी रुकुममा पर्ने चुरेन हिमाल देखि गोरखाको मनास्लु हिमाल सम्मका एकदर्जन भन्दा बढी हिमालहरु अवलोकन गर्न सकिन्छ ।

यहाँबाटचुरेन,धौलागिरि,मानापाथी,निलगिरि,अन्नपूर्ण,बराहशिखर,तिलिचोपिक,माछापुच्छ«े,गंगापूर्ण,लमजुङ हिमाल र मनास्लु हिमश्रृङ्खलाको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । साथै म्याग्दीका सवै पालिका,पर्वतको जलजला,कास्की र बागलुङका रमणीय ग्रामिण वस्तीहरु यहाँबाट देख्न सकिन्छ ।

समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गा पर्दछ । बेनी नगरपालिका र बागलुङको काँठेखोला गाउँपालिकाले बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जुटेका छन् । दुवै पालिकाले यहाँ पुग्ने सडक,पदमार्ग र बेलढुङ्गामा भ्यू प्वाइन्ट निर्माण गरेका छन् ।
बेनी नगरपालिकाले बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना सहित पूर्वाधार निर्माणमा जुटेको वडा नम्बर ३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बेलढुङ्गाबाट धेरै हिमालहरुको लहर देख्न सकिन्छ । पूवी रुकुमको चुरेन देखि गोरखाको मनास्लु सम्मका हिमालहरुको लहर एकै ठाउँबाट अवलोकन गर्न सकिने सुन्दर ठाउँ छ । यहाँको पर्यटन प्रवद्र्धन गरेर आन्तरिक र वाह्ै पर्यटक भिœयाउने हाम्रो लक्ष्य छ ।’’

बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने पहिलो कामको थालनी वडा नम्बर ३ भकिम्लीवासीहरुले गरेको उहाँले बताउनुभयो । स्थानीय सरकार आएपछि वडाको तर्फबाट पहिलोपटक पूर्वाधार निर्माण सुरु गरेपछि बागलुङ तर्फबाट पनि यहाँको विकासमा लगानी हुन थालेको उहाँको भनाई छ । उहाँका अनुसार बगलुङ तर्फको ओखले गाउँमा सामुदायिक घरबास छ । यता भकिम्लीको मुसुङ गाउँमा पनि होमस्टे बनाउने योजना रहेको वडाध्यक्ष पुनले बताउनुभयो ।

पछिल्लो समय बेनी र बागलुङ तर्फबाट आन्तरिक पर्यटकहरु आउन थालेको मुसुङका स्थानीयवासी पृथीप्रसाद पुनले बताउनुभयो । बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न दुवै पालिकाले थप पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।