ताजा समाचार:
Search

लोकप्रिय हुँदै प्रकाश दुतराजको म्यूजिक भिडियो ‘‘रिमै’’

विकल्प न्यूज/बेनी
कात्तिक १२ गते ।


युवा गायक प्रकाश दुतराज फेरी एकपटक चर्चामा आउनुभएको छ । हुनत दुतराजका सवै म्यूजिक भिडियोहरु लोकप्रिय हुन्छन् । दशैंको मुखमा सार्वजनिक भएको म्यूजिक भिडियो ‘‘रिमै’’ले दुतराजलाई फेरी सर्वत्र चर्चामा ल्याइदिएको छ । म्यूजिक भिडियोका गीतले टिकटक भरिएको छ । टिकटक खोल्दा वित्तिकै दुतराजकै गीतबाट बनाइएका टिकटक हेर्न पाइन्छ ।

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका युवा गायक दुतराजले नेपाली गीतसंगीतमा पृथक खालको उपस्थिती देखाउन सफल हुनुभएको छ । नेपाली गीतसंगीतका क्षेत्रमा मैले नयाँपन दिन खोजेकाले सफल हुँदै आएको छु उहाँले भन्नुभयो, ‘‘अझै केही वर्ष टिपिकल नेपालीपनलाई नै प्राथमिकता दिएर म्यूजिक भिडियो बनाउँछु ।’’

एकहप्ता अघि सार्वजनिक भएको म्यूजिक भिडियोमा राउटे समुदायको संस्कृति झल्किन्छ । गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडियोमा स्वयम दुतराज र केपिना गोतामेको अभिनय रहेको छ । गत शनिबार आफ्नै युट्युव च्यानलबाट सार्वजनिक उक्त म्यूजिक भिडियो ८ दिनमा २३ लाखले हेरिसकेका छन् ।

दुतराजका जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता म्याूजिक भिडियो लोकप्रिय छन् ।

म्यूजिक भिडियो ‘‘रिमै’’मा ज्यामिरेको बुवा मुखियाको निधन भएको दुई दिन भएको छ । उनीहरुको प्रचलन अनुसार मुखियाको निधन भएपछि उनीहरु आफ्नो बासस्थान छोडेर नयाँ बासस्थानतर्फ सर्दैछन् । यो त सबै राउटे समुदायको बसाइसराईको कथा हो । तर, बाजकली भने ज्याामिरेको खोजीमा छन् । बोल्ने शैली फरक, लगाउने भेषभुषा फरक तर, आफ्नालाई गुमाउनुको पीडा सबैलाई एउटै हुने रहेछ भन्ने कथा म्यूजिक भिडियो समेटिएको प्रकाशले बताउनुभयो ।

उहाँका अनुसार राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडियो देखाउन खोजिएको छ । यो गीत अहिले टिकटकमा भाइरल नै भएको छ । अहिले सहरबजार देखि दुर्गम बस्तीसम्म यो गीत गुञ्जिन्छ ।

यूवापुस्ताको रोजाईमा परेका प्रकाशका हरेक गीतमा मौलिकता झल्किने गर्छ । उहाँका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उहाँलाई नै खोज्छन ्। त्यसैको परिणाम पछिल्ला गीतहरूले युट्युबमा मनग्य कमाइरहेको छ ।

सानै उमेर देखि गीत संगीतप्रति रुचि भएपनि परिवारको आर्थिक अवस्थाका कारण व्यवसायिक रुपमा गीतसंगीतको क्षेत्रमा आउने योजना थिएन उहाँले भन्नुभयो, जिविकोपार्जनका लागि काठमाण्डौंका दोहोरी साँझहरुमा काम गरे । त्यहाँ धेरै कुराको सिकाई भयो । विदेश जान भनेर दलाललाई पासपोर्ट बुझाए । अलिअलि पैसा पनि फस्यो । त्यसपछि नयाँ सोचका साथ गीतसंगीत तर्फ लागे ।’’ धेरै मेहनत गरेपछि सफल हुनसकिदो रहेछ उहाँले अनुभव सुनाउनुभयो ।