भारतीय राजदूतलाई देश निकाला गर्न एमाले नेताको माग

Surya-Thapa

२६ कात्तिक, काठमाडौं । भारतीय राजदूत रन्जित राय नेपालभित्र लगातार विवादित बन्दै गएका छन् । पछिल्लो समय सञ्चारमाध्यमहरु मार्फत उनले दिइरहेका राजनीतिक अभिव्यक्तिले गर्दा उनको तीव्र आलोचना हुन थालेको छ ।

राजदूत रायका गतिविधिलाई लिएर एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख सूर्य थापाले कडा अभिव्यक्ति दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले राजदूतलाई देशनिकाला गर्नुपर्ने माग गरेका छन् ।

‘भारतीय राजदूत रन्जित रायलाई ‘डिपोट’ नगरी नेपाल-भारत सम्वन्ध सामान्य नहुने संकेत देखियो । अघोषित नाकाबन्दीका कारक यी राय महोदय हामी नेपालीसँग केको दुश्मनी साँध्न लागिपरेका छन् ?’ एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले लेखेका छन् ।

भारतको नियत बुझेर रणनीतिक योजना र तयारी साथ अघि बढ्नुपर्ने उनको सुझाव छ ।   थापाले भारतीय राजदूत दुई देशबीचको सम्वन्ध सहज तुल्याउन भन्दा पनि बिगार्न उद्यत रहेकाले उनलाई प्रक्रिया पुर्‍याएर देशनिकाला गर्नुपर्ने बताए ।

पछिल्लो समयमा एउटा राजदूत राय मधेसवादी नेताजसरी प्रस्तुत भएर भाषणवाजी गर्दै हिँडेको भन्दै थापाले उनलाई अब यहाँभन्दा अघि बढ्न दिनु नहुने धारणा राखे ।

‘कुनै पनि राजदूतले अर्को देशको आन्तरिक मामलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न पाउँदैनन्-‘थापा भन्छन्, ‘उनको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले सरकारले तत्कालै डिपोटको प्रक्रिया अघि बढाउनुपर्छ ।’

नेपालको संविधान जारी गर्ने समारोहमा उपस्थित भएका राजदूतले भारतमा गलत रिपोर्टिङ गरिरहेको थापाले आरोप लगाए । युद्धको अर्को पक्ष जसरी सरकारका भनाइहरुको खण्डन र आलोचना गर्ने छुट उनलाई दिन नहुने पनि थापाको भनाइ छ ।

भारतीय दूतावासले पछिल्लो समय एकपछि अर्को गर्दै सरकार र मन्त्रीहरुको खण्डनमा विज्ञप्ति निकालिरहेको छ भने राजदूत स्वयम्ले सरकारको आलोचनामा अभिव्यक्ति दिइरहेका छन् ।  थापा भन्छन्-‘असोज १ यता राजदूत रायका दर्जनौं क्रियाकलापहरु आपत्तिजनक छन् । उनलाई कारवाही गरेर सरकारले पाठ सिकाउनुपर्छ ।’ onlinekhabar