विकल्प न्यूज/बेनी
असोज २८ गते ।
म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा वस्नुहुने खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मोनाको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउनुभएका सल्लाहकार मिम पुर्जाले अधिबेशनको बन्द सत्रमा अध्यक्ष पदमा खड्कालाई सघाउन तयार भएपछि निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरेको थियो ।
अधिबेशनबाट उपाध्यक्षमा सुर्जे भट्टचन, ईन्जिनियर नन्द्र गर्वुजा, हरि राम्जाली, दिपक कार्की , किसान जिसी र महिला उपाध्यक्षमा विष्णु बानियाँ चयन हुनुभएको छ । त्यसैगरि महासचिबमा सुनेश केसी, सचिबमा हिक्मत श्रेष्ठ, निलमकुमार थापा, महिला सचिबमा संगिता थापा, कोषाध्यक्षमा नरेन्द्र फगामी, सहकोषाध्यक्षमा प्रेम छन्त्याल रहनुभएको छ ।
अधिवेशनले युवा संयोजकमा सचिन श्रेष्ठ, महिला संयोजकमा पूर्णिमा पाईजा, महिला उप–संयोजकमा नैना पुन तिलिजा र युरोप क्षेत्रीय संयोजकमा दिपु फगामीलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष खड्का सहितको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले मोनालाई अन्य मुलुकहरुमा समेत विस्तार गर्ने र विदेशमा आर्जन गरेको सीप, पुँजी र प्रविधिलाई जिल्लाको विकास र समृद्धिमा सघाउन लगानीको रुपमा भित्राउन भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विश्वका विभिन्न २८ मुलुकमा मोना मार्फत म्याग्देलीहरु संगठीत बनेका छन् । जिल्लाको सामाजिक र मानवीय सेवाको क्षेत्रमा प्रवासी म्याग्देलीहरुले सहयोग गर्दै आएका छन । महाधिवेशनको अवसरमा मोनाले पालिका स्तरीय महिला÷पुरुष भलिबल र बेनी–लभ्लिहिल मिनि म्याराथन प्रतियोगिता समेत सम्पन्न गरेको छ ।