माझफाँटमा अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको तयारी तिव्र

विकल्प न्यूज/बेनी
असोज २५ गते ।

 पेसा,व्यवसाय र रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो आधिवेशनको तयारी अन्तिमचरणमा पुगेको छ । अधिवेशन असोज २७ गते जलजला गाउँपालिका ३ मल्लाज पर्वतमा हुने भएको हो । अधिवेशनलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरी तयारी तिव्र पारिएको छ ।

बुधवार अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसी, बरिष्ठ उपाध्याक्ष परशुराम पौडेल, जलजला गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष एवम् जलजलाका प्रवक्ता हरिविकास जिसी लगायतको टोलीले कार्यक्रम स्थालको अनुगमन गर्नुका साथै तयारीका विषयमा विभिन्न उपसमितिसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

छलफलका क्रममा हालसम्म भएका काम र बाँकी रहेका कामको विषयमा जानकारी गराईएको थियो । अधिवेशन भव्य र सभ्य बनाउन जनप्रतिनिधि सहितको टोली खटेको छ । हालसम्म मञ्च व्यवस्थापन, सडक मर्मत लगायतका महत्वपूर्ण काम सम्पन्न भैसकेको र अन्य काम पुरा हुने चरणमा रहेको प्रचारप्रसार तथा सुचना सम्प्रेषण उपसमितिका संयोजक नविन जिसीले जानकारी दिनुभयो ।

अधिवेशनलाई सफल पार्न मल्लाजका स्थानीयवासीहरु जुटेको उहाँको भनाई छ ।अधिवेशनमा विभिन्न सोरठी नाच, बाजागाजा, झाँक्री प्रदर्शन लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम  संयोजक मुना भुसालले जानकारी दिनुभयो । अधिवेशनले जलजलाको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आशा गरिएको छ ।