मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिमचरणमा

विकल्प न्यूज/बेनी
असोज २४ गते ।


म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको शुक्रबारदेखि बेनीमा सुरु हुने पाँचौ महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर छन्त्यालले पाँचौ महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिमचरणमा पुगेको जानकारी गराउनुभएको हो ।

असोज २६ गते (शुक्रबार) बेनीको खुल्लामञ्चमा आयोजना हुने उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन, प्रचार प्रसार, छपाई, अतिथि सत्कार, लगायतका कार्यहरुको तयारी तिव्ररुपमा अगाडि बढेको मोनाले जनाएको छ ।

अधिवेशनमा सहभागी हुन विभिन्न राष्ट्रिय कार्य समितिका पदाधिकारीहरु प्रतिनिधिको रुपमा बेनी आईपुगेका छन । अधिवेशनकै अवसरमा आयोजित प्रथम मोना कप, पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । विहिबार प्रतियोगिताको पुरुषतर्फको १ सेमिफाईनल सहित फाईनल र महिलातर्फको फाईनल खेल संचालन गरिने भएको छ । असोज २६ गते विहान देखि सुरु हुने बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिताको नामदर्ता लगायत अन्य व्यवस्थापकीय कार्यहरु पनि अन्तिम चरणमा पुगको छ ।

त्यस्तै अधिवेशनकै अवसरमा जिल्लाको विकासका लागि मोनाले गर्न सक्ने गतिविधिहरुको बारेमा जिल्लाका सरोकारवालाहरु संग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको मोना अन्तराष्ट्रियका महासचिव हरि राम्जालीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले अधिवेशन सफल बनाउनका लागि जिल्लाबासीहरुको साथ सहयोग महत्वपूर्ण हुने भन्दै उद्घाटन समारोहमा झाँकी सहित सहभागी हुन जिल्लाका सम्पूर्ण संघ संस्था तथा जातजातीहरुलाई अनुरोध गर्नुभएको छ । सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष तथा अधिवेशन संयोजक ददिवल खड्का, प्रमुख संरक्षक ओमनारायण जुग्जाली, प्रमुख सल्लाहकार मिम पूर्जा, सल्लाहकार विक्रम कार्की, लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्का, उपाध्यक्ष हरिकृष्ण गौतम लगायतले मोनाको गतिविधिको बारेमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष छन्त्यालको अध्यक्षता र महासचिव राम्जालीको संचालनमा सम्पन्न भएको थियो ।