बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी
असोज ४ गते ।

म्याग्दी जेसीजको आतिथ्यतामा बेनीमा विहिवार देखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । बेनीको खुल्ला मंचमा दुई दिनसम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको छ ।

सम्मेलन उद्घाटन पूर्व बजारमा जेसीजमा आवद्ध युवाहरुले ¥याली निकालेका थिए । भने सम्मेलनका अवसरमा बजारमा विभिन्न जातजातिका मौलिक संस्कृति र भेषभूषा प्रदर्शन गरिएको थियो । बजारका चोक चोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको पदर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

ADV

बजार सरसफाई,धोजापतका र तुल ब्यानर टागेर बजारलाई चिटिक्क पारिएको छ । क्षेत्र ‘ख’ सम्मेलनलाई म्याग्दी जेसीजले जिल्लाको पर्यटन प्रवद्र्धन सँग जोडेको छ । सम्मेलन स्थलमा जिल्लाका पर्यटकीय स्थलहरुको तस्विर राखिएको छ । सम्मेलनमा देशभरबाट करिब ६ सय भन्दा वढीले सहभागिता जनाएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले बताउनुभयो ।

त्यसैगरि देशभरका एकसय ७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहेको आयोजकले जनाएको छ । अध्यक्षा बानियाँले भन्नुभयो, ‘‘सम्मेलनले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गरेका छौं ।’’

अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल र पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिएको छ ।
क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक सुवीन श्रेष्ठले बताउनुभयो ।

सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ ।

सम्मेलन परिसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियासँगको सहकार्यमा नदेखिएको म्याग्दी शिर्षकको तस्बिर पदर्शनी हुनेछ भने सम्मेलनमा म्याग्दीको कला, संस्कृति र पर्यटन सम्भावनाको बृत्तचित्र समेत पदर्शन गरिने तयारी भएको आयोजकले जनाएका छन् ।

सम्मेलनलाई सफल बनाउन जिल्ला स्थित सरकारी कार्यालय,स्थानीय तह र विभिन्न संघ संस्थाले जेसीजलाई सघाएका छन् । बजारवासीहरुले आ–आफ्नो टोलमा सरसफाई र तुल ब्यानर टागेर पाहुनालाई स्वागत गरेका छन् ।