बेनी बजारमा जोगीहरु निस्केपछि….. (फोटोसहित)

विकल्प न्यूज\बेनी
भदौ २२ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा तीनसय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगी नाच नेवार समुदायको मौलिक कला संस्कृतिमा पर्दछ ।
नेपाल भाषा मंकाःखलले आयोजना गर्ने एकमहिने लामो बर्खे नाच अन्तर्गत शुक्रबार बेनीमा जोगी नाच देखाइएको हो ।

नेवार समुदायको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा यूवापुस्ताले जोगी नाच प्रदर्शन गरेका थिए । जोगीको भेषमा युवाहरु बजारमा निस्केपछि सर्वसाधरणहरुले निकै रमाइलो मानेर हेरेका थिए ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाचहरु देखाइने बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । पछिल्लो समय नाचका लागि जनशक्तीको अभाव हुनथालेपछि युवाहरुलाई तालिम दिइएको नेपाल भाषाः मंका खलःका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

जोगी नाच बजारमा ल्याउनुपूर्व महादेव र पार्वतकीको पूजा गरी उनीहरुलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने गरिएको उहाँले बताउनुभयो । नेवारी समुदायको मौलिक कला संस्कृतिको संरक्षण गरि युवा पुस्तामा हस्तान्तरणका लागि युवाहरुलाई तालिम दिएर कलाकार उत्पादन गरेको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।